काठमाडौं । हेटौंडा उपमहानगरपालिका सिमानामा पर्ने गैरीगाउँमा गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ ।
जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।
विभागका भूगर्भविद् नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताएका छन् । घटना स्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी रहेको छ । टोलीले प्रोटोन म्याग्नेटोमिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उनको भनाई छ । म्याग्नेटो मिटरको आधारमा भूगोलको चुबकीय क्षेत्र तथा पदार्थको अवस्था पत्ता लगाउने उल्लेख गरेको छ ।
शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको थियो । सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन । गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ ।