काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धबिरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ । युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको हो ।
चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिता जनाउन मस्कोमा रहेका छन् ।
युक्रेनको सेनाले बिहीबार बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ । किएभले कुनै पनि क्षति वा हताहतिको जानकारी दिएको छैन ।
क्रेमलिनले रुसी सेनाले पुटिनको आदेशलाई पालना गर्ने तर आक्रमण भएमा तुरुन्तै जवाफ दिने बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझ आफ्नो सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गरेका छन् ।