सगरमाथा संवादको पहिलो संस्करणमा भारतद्वारा १५ वटा विद्युतीय सवारी उपलब्ध

राजनीति विविध समाचार

काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरूप भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (गाडी) उपलब्ध गराएको छ ।
नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका छन् । मन्त्री राणाले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरू तथा पाहुनाहरूको स्वागतको प्रतीक्षामा रहेको जानकारी दिइन् ।

भारतीय राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा गर्दै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानमा अवलम्बन गरिने उपायहरूमा भारत सरकार नेपालको साथ रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *