काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गरेको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन् ।
गौतम बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली भूमिमा जन्मिएका बुद्धका ज्ञान र आदर्शले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेको उल्लेख गरेका छन् ।
यसैगरी, सभापति देउवाले प्रकृतिका पुजारी किरात समुदायको उँभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
उनले पृथ्वीमा कहीँकतै खाद्यान्नको अभाव नहोस्, अन्नबाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किरात समुदायले मनाउने उँभौली पर्वका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।