शिला खोज्दै माओवादी

राजनीति समाचार

काठमाडौँ । जनताबाट चुकेपछि कहिले हुलाकी राजमार्ग त कहिले पुष्पलाल मध्यपहाडी राजमार्गको पैदल यात्रा गर्न लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना आधार इलाका बिर्सेर उपत्यका अभियानमा कार्यकर्ताको शिला खोज्दै छन् । ललितपुरमा संगठन बलियो थियो, तर उपत्यका इन्चार्ज कहिले पम्फा भुसाल, कहिले हितमान शाक्य, कहिले दिननाथ शर्माजस्ता भ्रष्टहरुलाई जिम्मा दिँदा माओवादीप्रतिको नेवा समुदाय घट्दो छ ।
अहिले माओवादीले पुष्पलाल लोकमार्ग यात्रा पोखरामा स्थगित गरेर उपत्यकामा एक महिने अभियान चलाउँदैछ ।

नेकपा एमाले जस्तो पुरानो पार्टीलाई समेत भक्तपुरमा सकस छ । ललितपुरले वडा तहमा अस्तित्व धान्दै गर्दा काठमाडांैंका पुराना नेता हराए । सानु श्रेष्ठ, केशव स्थापित मात्र होइनन्, विद्या सुन्दर शाक्यहरु हराएका छन् । माओवादीमा देखिने नेवार समुदायले पत्याउने अनुहार नहुँदा अहिलेको अभियान एक महिना भ्याली केन्द्रित भएको हो । नयाँ नगर क्षेत्रमध्ये गोकर्णेश्वर शंकरापुर र टोखा मात्र होइन, कीर्तिपुरको हावाले चन्द्रगिरीलाई छुन्छ भनेर माओवादीले पहिलो कार्यक्रम गत साता चन्द्रगिरीमा आयोजना गरे पनि अपेक्षाकृत रुपमा सफल भएन ।

स्थानीयलाई खेदेर नयाँलाई अधिकार दिँदा टोखामा दिननाथपुत्री कल्पना शर्मालाई नगरको इन्चार्ज बनाउँदा स्थानीय चुनावमा माओवादीको जमानत जफत भयो । यो स्थिति काठमाडौं महानगरपालिका तारकेश्वर नगरपालिका बुढानीलकण्ठ नगरपालिकासम्म रह्यो । अहिले सरकारका गलत कामको भण्डाफोर गर्दै माओवादी राष्ट्रिय राजमार्ग अभियानमा छ ।

नेता आउने भनेपछि कार्यक्रममा जनता सहभागी भएपनि पार्टीप्रतिको सद्भाव जनतामा नहुँदा अध्यक्ष पुष्पकमल सहभागी हुने कार्यक्रम प्रभावकारी बनाउन शिला खोज्ने अभियान चलेको हो । माओवादी सांसदको विपक्षी भएर पनि जनताका एजेन्डा सदनमा प्रवेश गर्न नसक्ने अवस्था छ । हिउँदे अधिवेशनमा रास्वपा सभापतिको सहकारी ठगी प्रकरण र पक्राउ केन्द्रित भयो । बजेट अधिवेशनमा जिउँदो मान्छे बेचेर खाने गृहमन्त्रीविरुद्ध सदन केन्द्रित छ । शिक्षा स्वास्थ्य रोजगारीका कुरा माओवादी पत्ता लगाउँदैन । तर चुनावमा पार्टी बलियो बनाउने भाषण गर्दैछ । नेताको स्वभाव र व्यवहारले माओवादीको अभियान भने उपत्यकामा खस्किएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *