काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को अध्यक्षमा डा.सुजन कडरिया निर्वाचित भएका छन्।
बिहीबार काठमाडौंमा भएको निर्वाचनमा कडरियाले निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मत पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाएका छन्। कडरिया यसअघि केन्द्रीय कमिटीको सचिव थिए।
३२ वर्षे उमेर हद लागू भएपछि यसअघि उनीभन्दा माथिल्लो पदमा रहेकाहरू बाहिरिँदा कडरियाको नेतृत्वमा नयाँ आएको हो। त्यस्तै उपाध्यक्ष खुलामा ई.विकास श्रेष्ठले ७०८ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्ष महिलामा अञ्जना सिवाकोटीले ७७५ मत प्राप्त गर्दै विजयी भएकी छन् ।
महासचिवमा दिपक धामीके ७८५ मत प्राप्त गरेर विजयी भएका छन् भने उपमहासचिवमा कमल जोशीले ८१६ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी भएका छन् ।
विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ प्रतिनिधि मध्ये १४५० प्रतिनिधिले मतदान गरेका थिए ।
