काठमाडौं । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दाहरु धमाधम विशेष अदालतमा मुद्दा दायर गर्न थालेको छ । पहिलापहिला साना माछा समातेर ठूला माछा उम्किाउने अख्तियार अहिले राजनीतिक पूर्वाग्रहले हो या दवाव परेर हो धमाधम ठूला माछा समाउन थालेको छ । अख्तियारको ठूलो माछाको घानमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत, नेपाल टेलिकमकी प्रवन्ध निर्देशक संगीता पहाडी, टेलिकमकै पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललगायत १८ जना परेका छन् ।
त्योसँगै गृहमन्त्री रमेश लेखक पनि छानविनको घेरामा परेका छन् । अख्तियारप्रति सर्वसाधारणको थोरै भएपनि आशा जागेको छ । अख्तियारको पछिल्लो घटनाक्रमले गर्दा सरकारभन्दा आयोग बलियो बन्न पुगेको छ । यस्तै काम आयोगले गरिरह्यो भने देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुने देखिन्छ ।
पछिल्लो समय नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नागरिक लगानी कोष, नागरिक उड्डयन प्राधिकरण, बीमा प्राधिकरण, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), दुग्ध विकास संस्थान, नेपाल आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेशन, कृषि सामग्री संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायतका संस्थामाथि छानविनको निगरानी बढाएको अख्तियार स्रोतले बताएको छ । त्यसमा साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचन्ज लिमिटेड, नेपाल वायुसेवा निगम र नागरिक लगानी कोष अख्तियार अनुसन्धानको घेरामा परेको छ । यस्ता संस्था माथि चाँडै विशेष अदालतमा मुद्दा दायर गर्ने स्रोतको दावी छ ।

