काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिंगापुरले दिएको एक सय ३९ रनको लक्ष्य पछाएको नेपालले ३३ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६ दशमलव १ ओभरमा अल आउट हुँदै एक सय ३८ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए ।
त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक चार विकेट लिएका थिए सचिन भट्टले दुई तथा अभय यादव र शुभम खनालले एक एक विकेट लिएका थिए ।प्रतियोगिता अन्तर्गत अब नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

