राष्ट्रियताको वकालत गर्दा ओली भारतका निशानामा

राजनीति समाचार

रामचन्द्र बस्नेत
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको एक वर्ष पुरा हुँदै छ । सत्ता सम्हालेको वर्षदिन पुग्नलाग्दा अन्य देशहरुले प्रधानमन्त्री ओलीलाई विभिन्न कार्यक्रमको भ्रमणमा निमन्त्रणा गर्ने क्रम जारी छ । तर, छिमेकी मुलुक भारतले प्रधानमन्त्री ओलीलाई वर्षदिन पुगिसक्दा पनि समकक्षीको रुपमा भ्रमणको औपचारिक निमन्त्रणा गरेको छैन । प्रधानमन्त्री ओलीलाई यही असार महिनाभित्र भारतले भ्रमणमा बोलाउने भनिए तापनि त्यो अहिलेसम्म निश्चित भएको छैन । यसअघिका प्रधानमन्त्रीहरुलाई सत्ता सम्हालेको तीनमहिनाभित्र भारतले औपचारिक भ्रमणको लागि निमन्त्राण गर्ने गरेको थियो । तर, पछिल्लो समय प्रधानमन्त्री ओलीले नेपालको साँधसीमानाको विषय बढी उठान गरेकाले भारत उनीप्रति चिढिँदै गएको देखिन्छ ।

तर, राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गरेको जस प्रधानमन्त्री ओलीले लिइरहेका छन् । त्यसले गर्दा पनि भारतले प्रधानमन्त्री ओलीलाई यहीं असारभित्र भ्रमणको निमन्त्रणा पठाउने भने तापनि त्यो त्यत्तिकै सीमित हुने देखिन्छ । किन कि प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निमन्त्रणा गरेको भए प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाने तयारी गर्ने थिएनन् । भारतले भ्रमणमा नबोलाउने छनक पाएपछि प्रधानमन्त्री ओलीले स्पेन जाने समय निश्चित गरेका हुन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पटक–पटक प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाउन आग्रह गर्दा पनि भारतले बेवास्ता गदै आएको थियो ।

उता, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा आउन परराष्ट्रमन्त्री राणाले पटक–पटक आग्रह गर्दा पनि मोदीले आनकानी गरिरहेका छन् । भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा नआएका मात्रै छैनन् नेपालमा आयोजना गरिएको सगरमाथा सम्वादको भर्चुअल बैठकमा पनि मोदी सहभागी भएनन् । त्यसले गर्दा नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीचको सम्बन्धन चिसिँदै गएको छर्लङ्ग हुन्छ । एकातिर छिमेकी मुलुक भारतले नपत्याउनु अर्कोतिर सत्ता साझेदार दलभित्रको इतरपक्ष नेताहरुले विरोध गर्नुले प्रधानमन्त्री ओलीमाथि चुनौती थपिँदै गएको छ ।

अर्कोतिर ओली नेतृत्वको सरकारका मन्त्रीहरु एकपछि अर्को गर्दै भ्रष्टाचार र अनियमिततामा मुछिने कारणले गर्दा ओली अलोकप्रिय बन्दै गएका छन् । प्रधानमन्त्री ओली मात्रै अलोकप्रिय बनेका छैनन् सत्ता साझेदार दल एमाले र कांग्रेसका नेताहरु पनि विभिन्न विवादमा फस्दै आएका छन् । एकवर्षे कार्यकालमा विभिन्न चुनौतिको सामना गर्दै आएका प्रधानमन्त्री ओलीले स्पेन भ्रमणबाट कस्तो सन्देश लिएर आउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *