मनसुनको समय छ, बाढी, पहिरोको जोखिम उत्तिकै बढी छ । गर्मी मौसममा हावाहुरी चल्ने र आगलागी हुने घटना पनि बढेकै छन् । हावाहुरी र आगलागीले हरेक वर्ष ठूलो धनजनको क्षति पु¥याउने गरेको छ । गर्मी र वर्षात्को मौसम नेपालको सन्दर्भमा जोखिम मानिन्छ । हरेक वर्ष यी प्राकृत्तिक विपत्तिले नेपालमा असर प्रभाव पारिरहेका छन् । तर सरकार हरेक वर्ष अन्जान र अन्देखा गरेर बस्ने गरेको छ । आगलागी, बाढी, पहिरो जाने समयमा सरकार विपद् व्यवस्थापन र राहत वितरणका लागि तम्तयार भएर बस्नुपर्दछ ।
जोखिम जुनै बेला पनि आउन सक्छ । त्यसैगरी, जोखिम क्षेत्रमा जनतालाई सुसूचित गर्ने र स्थानान्तरण गर्ने जिम्मेवारी सरकारको हो । तर सरकार हरेक वर्षझैं राजनीतिक खिचातानी, स्वार्थमा रुमल्लिएको छ । भ्रष्टाचार र बेथितिमा जोगाउने र फसाउने प्रपञ्च चलिरहेको छ । देशको अवस्था र विपत्तिभन्दा माथि आफ्नो कुर्सी जोगाउने खेलोमा सरकार तल्लीन देखिन्छ । राजनीतिभन्दा पनि जनताको समस्या पहिलो हो भन्ने कुरा सरकार र नेतृत्वले बुझेर पूर्ववत तयारी गर्नुपर्दछ ।
मनसुनको समयमा हरेक वर्ष नेपालमा बाढी, पहिरो र भूक्षयले ठूलो धनजनको क्षति पु¥याइरहेको हुन्छ । अहिले बजेटको सिजन चलिरहेको छ । जनताको वास्तविक अवस्थाभन्दा पनि आ–आफ्नो क्षेत्रमा बजेट पार्ने र आर्थिक लाभ लिने भन्ने ध्याउन्न राजनीतिक दलका नेताहरु र सांसदहरुमा देखिएको छ । गत वर्षको मनसुनमा पहाडी जिल्लाहरुमा ठूलो धनजनको क्षति बाढी र पहिरोले पु¥याएको थियो । अधिकांश घरहरु बाढी र पहिरोले बगाउँदा सर्वसाधारण सडकमा आएका थिए । उनीहरुलाई राहत दिने, स्थानान्तर गर्ने विषयमा सरकारले चासो देखाउन सकेको थिएन । वास्तवमा जनताको समस्याप्रति सरकार र नेतृत्वलाई कुनै चासो नै देखिँदैन । बाढी पहिरोको क्षतिबाट जोगाउन जोखिम क्षेत्रमा विपद् व्यवस्थापनका दक्षहरु खटाउने, सुरक्षित ठाउँमा मानिसहरुलाई सार्ने काम सरकारले पहिले नै गर्नुपर्दछ । सरकारले राहत, विपद् कोष, सुरक्षाकर्मीहरुलाई यस्ता जोखिम व्यवस्थापनका लागि पूर्वतयारी अवस्थामा राख्न जरुरी छ ।

