काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् ।
भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा प्रचण्डले महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरेका थिए ।
प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ। ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराएका छन् । समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेकी छन् ।
त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५ से.मी. मुनीको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन् । पुरुष स्पोर्ट्स फिजिक १७५ से।मी। माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन् । प्रचण्डले नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै आगामी दिनमा शारीरिक सुगठनजस्ता खेलहरूलाई समेत राज्यले आवश्यक सम्मान र स्रोत साधन उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

