प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको सहभागिता र उपलब्धिबारे संसदमा गराए जानकारी,२०२६ सम्ममा नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सम्मेलनपूर्व यही असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकमविकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए । सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नती हुने अवगत गराए छन्। प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताएका छन् ।

उनले विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको जनाउँदै विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको बताएका छन् । साथै नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएकोले आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानीवृद्धि हुने अपेक्षा गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *