काठमाडौं । नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने भएकी छन्।
उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन्। वेलिङटन न्युजिल्याण्डको क्लब भएपनि अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्दै आएको छ । क्लबले सावित्रा क्लब र देश दुबैका लागि उत्कृष्ट गोलकर्ता भएको र उनलाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्वपूर्ण कदम भएको बताएको छ ।
उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन्। भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन्।

