पुनको आत्मकथा पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ सङ्कलन,वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च हुने

कला-साहित्य समाचार

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ सङ्कलन भएको छ ।

केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि बिर्तामोड आएका डा.पुनले दुई लाख १८ हजार प्रति किताब बिक्री भएको जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेकोले वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिएका छन् । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ । विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ ।

बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा.पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गरे । ‘देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ’, उनको भनाइ थियो, ‘सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।’ उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उनले विश्वास व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *