देशैभरीका युवाहरुलाई एमालेमय बनाउँदै रोजगारीको व्यवस्था मिलाउन लागिपरेका छौं

अन्तरवार्ता राजनीति

युवासंघका अध्यक्ष, क्षितिज थेवे
नेकपा एमालेका युवा संघका नेता क्षितिज थेवे हालै युवा संघको अध्यक्षमा निर्वाचित भएका नेता हुन् । क्षितिजले प्रतिस्पर्धिसँग सात मत बढी ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । युवा संघ नेपालका केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेका क्षितिजले युवाहरुलाई नेकपा एमालेमा कसरी समावेश गराएर अधिकांश युवाहरुलाई एमालेमय बनाउँछन् । त्यो प्रतिक्षाको विषय बनेको छ । उनी नेकपा (एमाले) निकट शक्तिशाली भातृ संगठनको नेतृत्व सम्हालिरहेका छन्, जसले मुलुकभरि युवाको प्रतिनिधित्व गर्दै सामाजिक, राजनीतिक र संगठनात्मकलाई मध्ये नजर गर्दै युवाहरुको आन्दोलनलाई कसरी सञ्चालन गर्छन् । क्षितिज एमालेको संगठनभित्र लामो समयदेखि संघर्ष, अभ्यास र निष्ठाका साथ काम गरेर अगाडि बढेका नेता हुन् । उनी विद्यार्थी आन्दोलनदेखि पार्टी संगठन निर्माणसम्म सक्रिय रहँदै आएका थिए । उनी राजनीतिक रूपले परिपक्व, संगठनप्रति समर्पित र राष्ट्रप्रति उत्तरदायीत्वको भूमिका खेल्दै युवा नेताको रूपमा चिनिदै आएका छन् । उनै क्षितिजसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश प्रतिनिधिले गरेको कुराकानीको अंशः

० तपााईं युवा संघको केन्द्रीय अध्यक्ष बन्नुभएको केही समय भएको छ, अध्यक्ष भएको केही समयएता के–कस्ता काम र अनुभब भएको छ ?
अध्यक्षको जिम्मेवारी मैले पाउनु भनेको ऐतिहासिक अवसर हो । यो अवसरले मलाई संगठनलाई सशक्त बनाउने, युवाका समस्याहरु हल गर्ने,संवेदनशील बन्ने र पार्टीको विचारलाई नयाँ पुस्तामा प्रभावकारी रूपमा लैजार्ने जिम्मेवारी पनि दिएको छ । यो समय अवधि हामीले संगठनात्मक संरचनालाई सक्रिय तुल्याउने, स्थानीयदेखि केन्द्रीय तहसम्म नेतृत्वको क्षमताविकासमा जोड दिने र आन्दोलनको शैलीलाई समयानुकूल बनाउन विभिन्न अभ्यासहरू गरेका छौं । त्यसमा अनेक चुनौतीहरू थपिएका छन्, तर युवाको ऊर्जा र प्रतिबद्धता हेर्दा भविष्यप्रति आशावादी छु । युवा संघ नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारी पाउनु मेरो जीवनकै एक महत्त्वपूर्ण मोड हो ।

यो पद केवल संगठनको नेतृत्व मात्र होइन, देशभरिका युवाहरूको आवाज बुलन्द बनाउने अवसर पनि हो । अध्यक्ष बन्नको लागि प्रारम्भिक चरणमा जिम्मेवारीको बोधसँगै संगठनप्रतिको जनअपेक्षाले मलाई गम्भीर चिन्तन बनाएको छ । संगठनभित्रको साथ, सहयोग र सहकार्य सशक्त कार्यदिशाले मलाई त्यो बोझ थपिएको छ । एउटा प्रेरणाको रुपमा लिएको छु । मैले कार्यभार सम्हालेयता देशका अधिकांश जिल्ला कमिटी, वडास्तरका युवा इकाइहरूसँग प्रत्यक्ष संवाद गर्ने प्रयास गरेको छु । त्यस क्रममा मैले महशुस गरेको छु,‘युवाहरूमा अपार ऊर्जा, दृष्टि र राष्ट्रप्रतिको प्रतिबद्धता रहेको पाएको छु । तर तिनको सदुपयोग गर्ने संरचना अझै पूर्णरूपमा विकसित भएको छैन । संगठनभित्र सुधारको खाँचो छ, र त्यो सुधारको प्रक्रियामा मैले समावेशिता, पारदर्शिता र कार्यदक्षतालाई आधार मानेर पहल गरिरहेको छु ।’

० तपाईं नेतृत्वमा आएपछि तपाईंले संगठनमा के–कस्ता कामहरु गर्दै हुनुहुन्छ ?
मैले युवा संघ नेपालको अध्यक्षको जिम्मेवारी सम्हालेपछि संगठनमा व्यापक सुधारको खाका तयार पारेँ । सुधार केवल संरचनात्मक मात्र होइन, कार्यशैली, कार्यक्रम र नेतृत्वको लागि संस्कृतिको संस्कार आवश्यकता थियो । त्यसअनुसार मैले केन्द्रीयदेखि स्थानीय तहसम्म संगठनलाई पुनःक्रियाशील बनाउन विशेष ध्यान केन्द्रित गरेँ । सबैभन्दा पहिला संगठनात्मक अनुशासन र जवाफदेहिता सुद्वीकरण गर्दै लैजाने, युवासंघको रणनीति चलाएमान बनाउने, नियमित बैठक आयोजना गर्ने, कार्ययोजना बनाउने र नतिजामूलक कार्यक्रमको मूल्यांकन प्रणालीलाई प्राथमिकता दिइने । धेरै स्थानमा निष्क्रिय रहेका वडास्तरका कमिटीलाई सक्रिय तुल्याउने अभियान चलाइएको छ ।

सदस्यताको नवीकरण गर्ने, प्रशिक्षण र क्षमता अभिवृद्धिको कार्यक्रममार्फत नेतृत्वको गुणस्तर उकास्ने प्रयास गरिने छ । कार्यक्रमको लागि “युवाको आवाज, युवासँगै राष्ट्र” भन्ने नारासहित थुप्रै सिर्जनात्मक र सामाजिक जिम्मेवारीपूर्ण गतिविधि सञ्चालन गरिादै लगिने छ । तीमध्ये केही प्रमुख कार्यक्रमहरू “एक वडा, एक सीप केन्द्र” अभियानमार्फत स्थानिय स्तरमै सीप विकास तालिम सञ्चालन गरी युवालाई स्वरोजगारतर्फ आकर्षित गरिने योजना छ । “युवा उद्यम अभियान” अन्तर्गत उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, स्टार्टअप संस्कृति प्रवद्र्धन गर्ने कार्यक्रमहरू ल्याइएका छन् । शिक्षा, बेरोजगारी, लघुवित्त, भ्रष्टाचारजस्ता मुद्दामा संगठनको स्पष्ट धारणा बनाएर र विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गरिने ।

रक्तदान, सरसफाइ, विपद् राहत, सवारी सचेतना लगायत सामाजिक उत्तरदायित्वको कार्यक्रम नियमित गरिएका छन् । डिजिटलाइजेसन तर्फ सुधार ल्याएर सूचना प्रवाह र आन्तरिक समन्वय प्रणालीलाई छरितो बनाउँदै लगिएको छ । त्यस्तै, संगठनभित्र राजनीतिक शिक्षा र नीति बहसको संस्कार विकास गर्न युवा नेताहरूलाई वैचारिक, वैधानिक र रणनीतिक विषयमा प्रशिक्षण दिने कार्यक्रम सञ्चालन गरिने छ ।

संगठन केवल शक्ति प्रदर्शन गर्ने संस्था होइन, नवीन विचार उत्पादन गर्ने थिंक ट्याङ्क बन्नुपर्छ भन्ने सोचअनुसार हामी अघि बढिरहेका छौं । यी कार्यक्रम र सुधारहरूले संगठनमा नयाँ ऊर्जा भरेको देखिन्छ । युवाबीच राजनीति सकारात्मक छवि विकास गरेको र युवा जनशक्तिलाई सशक्त नेतृत्वदाताको भूमिकामा रुपान्तरण गरिने । अब हामी यो सुधारलाई संस्थागत गर्दै संगठनलाई दीर्घकालीन रुपमा प्रभावशाली बनाउने चरणमा गएका छौं ।

०देशभरीका संगठनहरुलाई सशक्त बनाउने तपाईंको योजना के छ ?
युवा संघ नेपाललाई देशभर सशक्त र प्रभावशाली संगठन बनाउन हाम्रो दृष्टिकोण बहुआयामिक र दीर्घकालीन सोचमा आधारित छ । संगठनको विस्तार मात्र होइन, गुणस्तरीय रूपान्तरण, समावेशी सहभागिता र समसामयिक विषयमा भूमिका खेल्न सक्ने,क्षमतायुक्त बनाउने योजनामा हामी अगाडि बढिरहेका छौं । सबैभन्दा पहिला, संरचनागत सुदृढीकरण हाम्रो प्रमुख प्राथमिकता रहेको छ । हामीले ‘एक वडा, एक युवा कमिटी’ अभियान चलाइरहेका छौं । वडास्तरदेखि केन्द्रीय स्तरसम्मको संगठन संरचना सक्रिय, प्रतिनिधित्वयुक्त र जिम्मेवार बनाउने खाका तयार गरिसकेका छौं ।

हरेक जिल्लामा संगठन निर्माणको लागि प्रतिनिधिहरू खटाइएका छन्, जसले संगठन विस्तार र नेतृत्व निर्माणको काम गरिरहेका छन् । संगठन सशक्त बनाउन तीन पक्षको आवश्यकता छ । नेतृत्वको क्षमता, कार्ययोजनाको स्पष्टता र जनतासँगको समन्वयका भूमिका । यी तीनै पक्षमा सुधार ल्याउन हामीले निम्न योजना लागू गरिरहेका छौं । हाम्रो संगठनले युवाका मुद्दालाई प्राथमिकता दिने आधार र अभियानहरू सञ्चालन गर्दै गएका छौं ।

जस्तै बेरोजगारी निवारण, शिक्षा सुधार, उद्यमशीलता प्रवद्र्धन, भ्रष्टाचारविरोधी अभियान, डिजिटल सशक्तीकरण, जलवायु सचेतना आदिमा लक्षित कार्यक्रम बनाएका छौं । संगठन अब नारा होइन, कार्य र परिणाम दिने दिशातर्फ केन्द्रित रहेको छ । हामीले नेतृत्व विकासलाई दीर्घकालीन लगानीका रूपमा लिन्छौं । प्रत्येक प्रदेश र जिल्लामा युवा नेतृत्व प्रशिक्षण कार्यक्रम, वैचारिक कार्यशैली, नीति संवाद जस्ता गतिविधि सञ्चालन भइरहेका छन् । राजनीतिक दृष्टिकोण मात्र होइन, व्यवस्थापन, सञ्चार र रणनीतिक नेतृत्वतर्फ पनि ध्यान दिइएको छ ।

संगठनको प्रभावकारिता प्रविधि अनुकूल हुन आवश्यक छ । त्यसैले हामीले केन्द्रीय डिजिटल सूचना केन्द्र, “युवा संघ एप”, अनलाइन सदस्यता प्रणाली, भर्चुअल बैठक संयन्त्र, र सोशल मिडिया प्रवद्र्धनका कार्यक्रमहरू थालेका छौं । सूचना प्रवाह छिटो, पारदर्शी र दस्तावेजीकरण बनाउने काम भइरहेको छ । संगठन केवल भित्रै केन्द्रित नभई जनसरोकारको मुद्दामा अग्रसर बनाउने प्रयासमा छ । रक्तदान, स्वास्थ्य शिविर, शिक्षा सहायता, विपद् राहत, पर्यावरण संरक्षणजस्ता काम मार्फत हामी युवालाई समाजको वास्तविक नेताका रूपमा स्थापित गराउँदैछौं ।

हामी युवालाई नारा लगाउने मात्र होइन, नीति निर्माणमा प्रभाव पार्ने हैसियतमा पु¥याउन चाहन्छौं । त्यसका लागि हामी ‘युवा संसद संवाद श्रृंखला’, ‘नविन नेतृत्व मंच’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौं, जहाँ युवाहरूले नीति बहस, सुझाव र संकल्प प्रस्ताव गर्न पाउँछन् । देशभरिका सबै वर्ग, समुदाय र क्षेत्रका युवालाई संगठनमा सहभागी गराउने नीति लागू गरिएको छ । महिला, दलित, जनजाति, मुस्लिम, मधेसी, समुदायदेखि सुदुर ग्रामीण क्षेत्रका युवाहरूको नेतृत्वमा अग्रसर गराउने कोटाका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

संगठनलाई देशभर सशक्त बनाउने हाम्रो योजना रहेको छ । त्योसँगै नेतृत्व विकास, नीतिगत हस्तक्षेप, जनसरोकारको सक्रियता र संगठनात्मक अनुशासनमा आधारित रहेको छ । हामी केवल संख्या होइन, प्रभावशाली, जिम्मेवार र परिवर्तनशील संगठनको रूपमा युवा संघलाई स्थापित गर्ने पक्षमा छौं । युवा संघ नेपाल अब एक अभियानमूलक, सृजनात्मक र सशक्त युवाशक्ति बन्ने बाटोमा द्रुत गतिमा अघि बढिरहेको छ ।

० युवा संघको वर्तमान अवस्था र भविष्यमा के–कस्तो योजना बनाई रहेको छ ?
आजका युवाको मुख्य चिन्ता रोजगारी, अवसर र समावेशी सहभागिता हो । हामीले युवाहरूको ऊर्जा र सम्भावनालाई उपयोग गर्न सक्ने नीति ल्याउनुपर्ने ठानेका छौं । त्यस्तै अवसरका हिसाबले प्रविधि, उद्यमशीलता, वैकल्पिक कृषि र पर्यटनजस्ता क्षेत्रमा राज्यले लगानी गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हाम्रा नीति बहसहरू, कार्यक्रम र दबाबले यी सवालमा राष्ट्रिय बहस जन्माउने काम गरिरहेका छौं ।
० युवा संघ नेकपा (एमाले) को भातृ संगठन हो । पार्टी नेतृत्वप्रति तपाईंको दृष्टिकोण कस्तो छ ?
हामी पार्टीको नीतिप्रति समर्पित छौं, तर आलोचनात्मक समर्थन हाम्रो संगठनको चरित्र हो ।

पार्टीमा भएका सकारात्मक कामको साथ दिन्छौं, तर कमजोरी वा कम दूरदर्शी निर्णयप्रति सुझाव र असहमति पनि राख्न सक्ने हैसियत हाम्रो छ । संगठन केवल जयजयकार गर्न होइन, सुधारको आवाज बन्न पनि तयार हुनुपर्छ । नेतृत्वले पनि यो सुझावलाई स्वीकार गरेर लानुपर्छ भन्ने हाम्रो माग हो ।

० अहिले देशमा बढ्दो बेरोजगारी, वैदेशिक पलायन र निराशाकाबीच युवाहरू एमालेप्रति आशावादी हुनसक्छन् त ?

यो प्रश्न जदिल हो, यथार्थमा सुसंगत छ । आजको पुस्ताले भोगिरहेको मुख्य समस्या हो — बेरोजगारी, अवसरको अभाव र त्यसबाट उत्पन्न निराशा । लाखौं युवा विदेशिने लहर, सीप भएर पनि रोजगारी नपाउने अवस्था, र घरेलु अर्थतन्त्रमा युवाको सहभागिताको न्यूनता हाम्रो लागि गम्भीर चुनौती हुन् । यसबिचमा, युवाले नेकपा एमालेप्रति आशावादी हुनसक्छन् कि सक्दैनन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । तर मेरो बुझाइमा, यथार्थ बुझेका र इतिहास चिनेका युवाहरूको लागि एमाले पार्टी नै विकल्प हो—आशाको मूल स्रोत हो । त्यस कारण बहुआयामिक छन् ।

एमाले नेपालमा युवा नेताहरूको उत्पादन गर्ने प्रमुख राजनीतिक थलो हो । चाहे ती छात्र आन्दोलनबाट आएका होऊन्, संघसंस्थाबाट, अथवा पेशागत पृष्ठभूमिबाट—एमालेले उनीहरूलाई नेतृत्वको अवसर दिएको छ । यो परम्परा आज पनि कायम छ । युवा, श्रमजीवी र गरिबको मुद्दा उठाउने, नीति निर्माण गर्ने र संस्थागत रूपान्तरणमा अग्रणी भूमिका खेल्ने पार्टी एमाले नै हो । युवाहरू कुनै विचारमा मात्र होइन, कार्यक्षेत्र र पहुँचमा पनि जोडिन्छन् । एमालेसँग देशव्यापी संगठन संरचना छ । यो संरचनाले युवालाई सिधा जनतासँग, स्थानीय शासनसँग र राष्ट्रिय नेतृत्वसँग जोड्ने संयन्त्र बनाउँछ । यही पहुँच र संरचनाले परिवर्तन सम्भव बनायो ।

एमालेले सरकारको नेतृत्व गर्दा ‘युवा स्वरोजगार कार्यक्रम’, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’, ‘विदेश गएका युवालाई फर्काएर उद्यममा लगाउने योजना’ जस्ता पहलहरू सुरु गरेको थियो । ती कार्यक्रमहरू व्यवहारमा पूर्णरूपमा सफल नभए पनि, सोचको दृष्टिले यो पार्टी अग्रसर रहेको स्पष्ट देखिन्छ । हाम्रो संगठन ‘युवा संघ नेपाल’ पनि अहिले स्वरोजगार, सीप, स्टार्टअप र सानातिना उद्योगतर्फ युवालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । हामी चाहन्छौं—विदेश होइन, स्वदेशमै भविष्य होस् । एमालेभित्र आजको नेतृत्वले युवालाई समेट्ने नीति अपनाओस् ।

हालैका चुनाव, संगठन पुनर्गठन र पार्टीको विविध निर्णय प्रक्रियामा युवाको उपस्थिति उल्लेखनीय छ । त्यसले गर्दा नयाँ पुस्ताले “हाम्रो आवाज सुन्ने ठाउँ यही हो” भन्ने विश्वास दिन्छ । अहिलेको राजनीतिक परिदृश्य हेर्दा, नयाँ–नयाँ नाम, समूह र शक्ति भनेर देखिएता पनि स्थायित्व, अनुभव र नीति दिशाको हिसाबले एमाले नै सबल छ । यथार्थबोध भएका युवाहरू बुझ्छन्—क्रान्ति मात्र होइन, जिम्मेवार शासन, सशक्त संगठन र दीर्घकालीन रणनीति चाहिन्छ । त्यो हैसियत एमालेसँग छ ।

निराशालाई परिवर्तनमा बदल्ने विचार र साधन एमालेसँग छ । हामीले बुझ्नुपर्छ, समस्या केवल नेताहरूको होइन, संरचनाको पनि हो । संरचना सुधार्न सक्षम संगठनात्मक पहुँच, राजनीतिक इच्छाशक्ति र जनसमर्थनको आवश्यक पर्छ—ती सबै पक्ष एमालेले दर्शाएको छ । बेरोजगारी, पलायन र निराशाका कारण युवाहरू आक्रोशित छन्, तर विकल्प खोजिरहेका छन् । त्यो विकल्प, त्यो भरोसा, त्यो स्थायित्व दिने संगठन हो—नेकपा एमाले ।

आशावादी हुनु भनेको आँखामा सपना राख्नु मात्र होइन, त्यो सपना साकार पार्न योग्य साधन पनि छनोट गर्नु हो । आजको नेपालमा त्यो साधन एमाले बन्न सक्ने सम्भावनाले भरिएको छ । त्यसैले, म विश्वासको साथ भन्छु—युवाहरू एमालेप्रति आशावादी हुन सक्छन्, हुनैपर्छ ।

० तपाईंको नेतृत्वमा युवा संघ सशक्त बन्न सक्छ ?
हाम्रो संगठन सरकारमा हुँदा कार्यक्रममार्फत, प्रतिपक्षमा हुँदा जनदबाबमार्फत सक्रिय हुन्छ । हामी सधैं सत्ताको गलत कामको विरोध गर्छौं, चाहे त्यो हाम्रो पार्टीकै किन नहोस् । हामीलाई हाम्रो संगठनको हैसियत र सिद्धान्तको बारेमा स्पष्ट निति छ । केवल हर्कत होइन, क्रियाशील र जनमुखी अभियान चलाउने युवा शक्तिको रूपमा स्थापित गराउँदैछौं ।

० युवाहरूको हकहितको लागि संगठनले कुन–कुन मुद्दा उठाउँदै छ ?
बेरोजगारी, शिक्षामा गुणस्तर, लघुवित्त आतंक, सीप अभाव, राष्ट्रिय स्वयंसेवक नीति, भ्रष्टाचारविरुद्ध सशक्त अभियान, स्वदेशमै रोजगारी कार्यक्रम, महिला तथा अल्पसंख्यक युवाको सशक्तीकरण जस्ता मुद्दाहरूमा हामीले विरोध प्रदर्शन, ज्ञापनपत्र र गोलमेचमार्फत निरन्तर दबाब दिँदै आएका छौं ।

० वर्तमान सरकारप्रति शिक्षा र रोजगार नीतिमा तपाईंको धारणा के छ ?
वर्तमान सरकारको नीति घोषणा र वास्तविक कार्यान्वयनबीच ठूलो दूरी छ । शिक्षा प्रणाली व्यावहारिक छैन, रोजगारका कार्यक्रम कागजी छैनन्, युवा बजेट न्यून छ । यस्तो अवस्थाबारे हाम्रो संगठनले तथ्यगत ढंगले आलोचना गर्दै आएको छ । हामी युवा मन्त्रालयलाई सबल बनाउन, शिक्षा नीतिलाई व्यवहारिकता दिन र रोजगारीमा नीतिगत लगानी बढाउन सरकारलाई घच्घच्याइरहेका छौं ।

० भ्रष्टाचारविरुद्ध युवासंघले के–कस्तो काम गरिरहेको छ ?
हाम्रो संगठनले देशभरि लघुवित्त आतंक, नक्कली सर्टिफिकेट, ठगी नेटवर्क, दारुजन्य विकृति, सवारी अव्यवस्था, सार्वजनिक कार्यालयको भ्रष्टाचारजस्ता विषयमा कडा विरोध र जनदबाब सिर्जना गर्दै आएको छ । सायद मिडियामा सबै खबर आउँदैनन्, तर हाम्रो सक्रियता जनस्तरसम्म पुगिसकेको छ । अब अभियानलाई अझ शुद्धीकरण गरी सशक्त, संघर्ष गर्ने तयारीमा छौं ।

० युवा संघमा गुटबन्दीको आरोप छ, तपाईंको टिप्पणी के छ ?
संगठन ठूलो हुँदा विविधता हुन्छ, तर गुटबन्दी भनेर आरोप लगाउनु गलत हो । हामी लोकतान्त्रिक ढंगले निर्णय गर्छौं, फरक मत स्वाभाविक हो । समन्वयकार्य भूमिकामा केही कमजोरीहरू हुन्छन्, तर त्यसलाई सुधार गर्दै एकीकृत रूपमा संगठनलाई अघि बढाउँदै लगेका छौं ।

० अध्यक्ष चयनमा विवाद भएको भन्ने आरोप छ, तपाईंको भनाई के छ ?
हाम्रो अध्यक्षीय चयनमा पूर्ण रूपमा संगठनको विधान, अनुशासन र पार्टीको परिपाटीअनुसार भएको हो । केही असन्तुष्टीको धारणा आउनु स्वाभाविक हो, तर त्यसले निर्वाचनको वैधानिकता माथि प्रश्न खडा गर्दैन । हामी समावेशी र समान अवसरको आधारमा नेतृत्व निर्माणमा विश्वास गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *