काठमाडौं । गठबन्धन सरकारले एक वर्ष पार गरिसक्दा पनि देशमा सुशासन कायम गर्न सकेको छैन ।
कर्मचारी तन्त्र एकातिर दौडिएको छ भने सरकार अर्कोतिर हिँडिरहेको छ । सरकार र कर्मचारीबीच समन्वयकारी भूमिका नहुँदा देशमा सुशासन हुनुको सट्टा भ्रष्टाचार, विकृति र विसंगति झन् मौलाएको छ । उता गृहमन्त्रालयले अध्यागमन कार्यालयमा नयाँ कर्मचारीको सेटिङ गरेको छ । अध्यागमन कार्यालयले पुराना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी सेटिङ गर्दा विदेश जानेहरु समस्यामा परिराखेका छन् ।
अनुभव नभएका कर्मचारी खटाउँदा भिजिट भिसामा कमाउधन्दा झन् फस्टाएको छ । अर्कोतिर नयाँ कर्मचारी सेटिङले गर्दा पुराना फाइल र डकुमेन्टहरुको समस्या त्यत्तिकै छ । नयाँ कर्मचारीलाई पुराना डकुमेन्टहरु कहाँ छन् र को कुन देशमा गएको छ, कतिपटक गएको हो, वर्किङ्ग भिसामा हो कि भिजिट भिसा हो भन्ने कुनै जानकारी हुँदैन । त्यसले गर्दा अध्यागमन कार्यालयमा समस्यामाथि झन् समस्या थपिएको छ । अध्यागमनमा यस्तो छ भने अर्कोतिर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयमा पहिलाका कर्मचारीहरुले सेटिङ गरेर भ्रष्टाचार गरेपछि अख्तियारले निगरानी बढाएको थियो । अख्तियारको निगरानीपछि विभिन्न मिडियामा समाचार सार्वजनिक भएपछि मन्त्रालयले पुरै कर्मचारी परिवर्तन गरी नयाँ कर्मचारी पठाएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग वाणिज्य तथा आपूर्ति विभागका अनुगमनमा खटिने कर्मचारी पठाएको छ भने कम्पनी रजिष्ट्रारका कर्मचारीलाई वाणिज्य तथा आपूर्ति विभाग र मन्त्रालयमा पठाएको छ । त्यसले गर्दा कम्पनी रजिष्ट्रार र आपूर्ति विभागमा समस्या परिरहेको छ । अनुभव नभएका कर्मचारीको कारण तिनैतिरका सेवाग्राही मारमा परिराखेका छन् । सरकारले मालदार कार्यालयहरुमा नयाँ कर्मचारी सरुवा गरेर दिन बिताइरहेको छ । तर, ती नयाँ कर्मचारीहरुले न कार्यालयको काम चुस्तदुरुस्त ढंगले गर्न सकेका छन् न त सेवाग्राहीको काम गर्न सकेका छन् । सम्बन्धित कार्यालयको अनुभव नभएका कर्मचारी सरुवा गर्दा सेवाग्राहीको काम चौपट हुने गरेको पाइन्छ । तर, सम्बन्धित निकाय रमिते बनेको छ ।

