काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदबीच चर्काचर्की चलेको छ ।
राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा रानालाई हटाउन खाली कागजमा हस्ताक्षर गर्ने एमाले र कांग्रेसका सांसदहरूप्रति धिक्कार छ भनेपछि उनीहरूबीच भनाभन चलेको हो ।
उनले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन कांग्रेस एमालेले सुरु गरेको हस्ताक्षर संकलनबारे प्रश्न गरिन् । उनको यो भनाइमा एमाले सांसद थापाले नियमापत्ति जनाए । सांसद थापाले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) अनुसार नियमापत्ति गरेको बताए । र भने, ‘यो आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण, अपमानपूर्ण, यो ढङ्गको अभिव्यक्तिलाई त्यो चेयरबाट निषेधित गरिनुपर्छ। माननीय सदस्यज्यूले कस्ता सदस्य, कस्ता कागजमा सही गराएको भन्ने ढंगका जुन लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको छ, यो रेकर्डबाट हटाउनुपर्छ ।’
सभामुख घिमिरेले थापा उठेपछि किन उठ्नुभएको हो ? नियमापत्ति हो भनेर सोधे । सभामुख घिमिरेले सोध्दै गर्दा सांसद कार्कीले भनिन्, ‘उहाँ त्यस्तै हो विपक्षी दलका सांसद बोल्न खोज्दा सधै उठ्नुहुन्छ ।’थापालाई सभामुखले समय दिएर नियमापत्ति गरिसकेपछि कार्कीले कांग्रेस र एमालेले दुई दलीय शासन लाद्न खोजेको बताइन् ।

