काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक ज्ञान प्रसाद भुर्तेलले स्थापना कालदेखि हालसम्म सशस्त्र प्रहरी बललाई आवश्यक रहेको भनी विभिन्न ठाउँमा जग्गा खरिद तथा अधिग्रहण गर्दै आएको खुलेको छ ।
त्यसरी सशस्त्र प्रहरी बलको नाममा जग्गा खरिद तथा अधिग्रहण गर्दा निरीक्षक भुर्तेलले करोडौं रकम देनदेन गरेको खुलासा भएको छ । भुर्तेलले जुन ठाउँमा सशस्त्र प्रहरी बलको जग्गा खरिद गर्दछन् त्यसको आसपासमा आफ्नो नाममा पनि जग्गा पास गर्ने गर्दै आएका छन् । त्यसको उदाहरण लिन सकिन्छ नेपाल एपीएफ अस्पतालको जग्गालाई । जग्गा खरिद र अधिग्रहण गर्दा त्यसको नजिकै ८ आना जग्गा आफ्नो नाममा पास गरेको विषय सार्वजनिक भएको छ । हाल उक्त जग्गा मेडिकल सञ्चालन गर्न भाडामा दिएका छन् ।
सोही अस्पताललाई जग्गा अधिग्रहण गर्दा ८५ वर्षीय वृद्धलाई रुवाएर निजका छोरासँग मिलेमतो गरी डीएसपी महेन्द्र हमाल र उपरीक्षक भुर्तेल मिलेर ३ करोड रुपैयाँ घुस खाएको खुलासा भएको छ । त्यसैगरी १५ नम्बर गणलाई जग्गा खरिद गर्दा नजिकै २० रोपनीभन्दा बढी जग्गा डीएसपी महेन्द्र हमाल र उपरीक्षक भुर्तेलले आ–आफ्नो नाममा पास गरेर राखेको स्रोतको दावी छ । त्यस्तै झापास्थित सशस्त्र प्रहरी बलको कार्यालयको लागि जग्गा खरिद गर्दा ३ बिगाहभन्दा बढी जग्गा उपरीक्षक भुर्तेलले आफ्नो नाममा पास गरी तारबार घेरेर राखेका छन् ।
सशस्त्र प्रहरी बलको नाममा जग्गा खरिद गर्दा ठाउँठाउँमा आफ्नो नाममा जग्गा पास गर्दै आएका उपरीक्षक भुर्तेलले हाल काठमाडौंको टोखा आसपासमा सुइमिङ पुलसहितको आलिसान महल ठड्याएर बस्दै आएका छन् । उनै भुर्तेलको कुनै दिन मोटरसाइकिलसमेत किन्ने हेसियत थिएन । किन कि उनी अहिले देखाउने होइन, जागिर सकिएपछि देखाउने हो, अहिले देखायो भने त अख्तियारले समातिहाल्छ नि भन्ने गर्दछन् । अझ अर्को रोचक पक्ष के छ भने सशस्त्रको हाल २२ नम्बर गण गुहेश्वरी भुक्तपुरमा जग्गा अधिग्रहण गर्दा ठूलो चलखेल गरेका भुर्तेलविरुद्ध सर्वोच्चमा मुद्दासमेत परेको थियो ।
सो मुद्दा पीडितको पक्षमा फैसला भएको थियो । भक्तपुरको सो जग्गा अधिग्रहण गर्दा सरकारी मूल्याङ्कन गर्दा गोरेटो बाटो भएको जग्गालाई ठूलो बाटो भएको र ठूलो बाटो भएको जग्गालाई गोरेटो बाटो भएको भन्दै सिफारिस गरेबापत जग्गावालासँग मिलेमतो गरी उपरीक्षक भुर्तेलले लाखौं रुपैयाँ भ्रष्टाचार गरेको खुलासा भएको छ । राम्रो जग्गालाई नराम्रो र नराम्रो जग्गालाई राम्रो भनेर सिफारिस गरेबापत जग्गावालासँग लिएको करोडौं घुसको रकम उपरीक्षक भुर्तेलले जिल्लादेखि सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अधिकारीहरुलाई समेत भाग बन्डा गरेको स्रोतको दावी छ ।
यदि भाग बन्डा नपु¥याएको हो भने भुर्तेललाई कार्यालयले ३ पटक छानविन गर्दा पनि किन भित्रभित्रै झिसमिस पारियो ? सर्वोच्च अदालतले समेत पीडितको पक्षमा फैसला गर्दा भुर्तेललाई विभागले किन कारबाही गर्दैन ? यस्ता भ्रष्टाचारी उपरीक्षक भूर्तेललाई सशस्त्रका आईजीपी अर्यालले नचिनेका हुन् कि चिनी चिनी बुझ पचाएका हुन् भन्ने प्रश्न सशस्त्रका प्रहरीबीच चर्चाको विषय बनेको छ । किन कि २ पटक लाभ हुने गणमा पठाएर कमाउने मौका दिएर आईजीपी अर्यालले के संगठनलाई राम्रो काम गर्नेलाई पुरस्कृत गरेका हुन् त ? दर्जन बढी कार्यविधि बनाएका आईजीपी अर्यालले आफ्नो मान्छेलाई असर पर्नेबित्तिकै ‘छाड्दे मैले बनाउन लगाको कार्यविधि त होनी ! भनेर पन्छिने गरेका छन्, भन्दै थिए केही प्रहरीहरु अधिकृतहरु ।
यस्तो कार्यलले गर्दा आईजीपी अर्याल आफैं बदनाम हुन पुगेका छन् । नियम, कानून विपरीत काम गर्ने व्यक्तिलाई जिम्मेवारी ठाउँमा पु¥याउने काम आईजीपी अर्यालले गर्दै आइरहेको बताइन्छ । भुक्तपुरमा जग्गा खरिद र अधिग्रहण गर्दा जग्गाधनीले गोरेटो बाटो नभएको जग्गालाई ठूलो बाटो भएको भनी लेखिदिनुहोस् राम्रो रकम आउँछ भनेपछि उपरीक्षक भुर्तेलले जग्गा धनीले भनेअनुसार गरी मोटो रकम लिएको स्रोत बताउँछ । त्यसैगरी ठूलो बाटो भएको जग्गा धनी थापा थरका जग्गाधनीलाई समेत पैसाको कुरा गरेका थिए । तर, निज जग्गाधनीले थापाले मेरो त ठूलो बाटो छँदैछ नि किन पैसा दिने भनेर भनेका थिए । जग्गाधनीले त्यो भनेपछि भुर्तेलको रिसले ठूलो बाटो भएको उनको जग्गा गोरेटो बटो भएको भनी सिफारिस गरेका थिए ।
ठूलो बाटो भएको जग्गा सरकारी मूल्याङ्कनमा रोपनीको ७५ लाख राखिएको थियो भने, गोरेटोको बाटो भएको जग्गा रोपनीको २५ लाख र ग्राबेल बाटो भएको जग्गा रोपनीको ३२ लाख राखिएको थियो । तर, भुर्तेलले मागेअनुसारको कमिसन नदिँदा ठूलो बाटो भएको जग्गा गोरेटो बाटो भएको भनेर सिफारिस गरिदिएका थिए । ठूलो बाटो भएको जग्गाधनी ७५ लाखको दरले पैसा नपाएपछि ती जग्गावालाले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्च अदालतले जग्गाधनीको पक्षमा फैसाला गरेको थियो । सर्वोच्चबाट मुद्दा जिते तापनि जग्गाधनीले हालसम्म पैसा पाएका छैनन् ।
सशस्त्र प्रहरी बलका उपरीक्षक सोही जग्गा खरिदको काण्डमा तानिने भएपछि हतार–हतार क्षेतिपूर्तिको लागि ८ करोड बराबरको रकम निकाशा गरिदिनुप¥यो भन्दै आईजीपी मार्फत गृहमन्त्रालयमा पत्राचार गरेका छन् । उपरीक्षक भुर्तेललाई कारबाही सशस्त्रबाट होइन संसदबाट छानविन गरी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । कर्मचारीको यस्तो लापर्बाहीले छानविनमा समेत समस्या पर्ने गर्दछ । कर्मचारी–कर्मचारी मिलेर दोषीलाई उन्मुक्ति दिने कारणले गर्दा उपरीक्षक भुर्तेललाई संसदीय छानविनमा पु¥याउनुपर्ने पीडितको भनाइ छ ।

