अधिकांश मन्त्रीको ध्यान कर्मचारी सेटिङमै

राजनीति समाचार

काठमाडौं । सरकारले एक वर्षे कार्यकाल पुरा गर्दा पनि देशमा सुशासन दिन सकेको छैन । सरकार कर्मचारी सरुवा बढुवामै अल्झिइरहेको छ । जुनसुकै पार्टीबाट मन्त्री बनेकाहरु पनि कर्मचारी सरुवा, बढुवा गर्ने खेतिमा लागेर कमाउधन्दा चलाइरहेका छन् । उर्जामन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरुवा गरेर आफ्नो् बहादुरी देखाए । घिसिङसहित सिंचाईं विभागको महानिर्देशक चारपटकसम्म फेर्न भ्याए । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई कार्यकालको वर्षदिन नहुँदै सरुवा गरेका छन् ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्षदिनको हाराहारीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकदेखि कम्पनी रजिष्ट्रार र उद्योगका महानिर्देशक समेत पटक–पटक गरी फेरबदल गरिसकेका छन् ।

अर्कोतर्फ नेपाली कांग्रेसबाट उपप्रधान मन्त्रीसहित शहरी विकास मन्त्री बनेका प्रकाश मान सिंहले शहरी विकास अन्तर्गतका विभिन्न आयोजना, कार्यालय र विभागका महानिर्देशकहरु सरुवा गर्नको लागि चाक्सीबारीमा मिटिङ र भेला गर्ने गरेका छन् । त्यो भेलासँगै मन्त्री सिंहले विभिन्न आयोजना र कार्यालय प्रमुख फेरबदल गरिसकेका छन् । अब भवन विभागको महानिर्देशक फेर्ने तरखर गरिराखेका छन् ।

मन्त्री सिंहले गत असोजमा भवन विभागका तत्कालीन महानिर्देशक कुमार घिमिरेलाई हटाएर कीर्तिपुरका मचाकाजी श्रेष्ठलाई महानिर्देशक बनाएका थिए । मचाकाजी महानिर्देशक भएको वर्षदिन नपुग्दै फेरि उनलाई हटाएर प्रकिरण तुलाधरलाई भवन विभागको महानिर्देशक बनाउन मोलतोल हुँदैछ । भवन विभागको महानिर्देशक बन्न प्रकिरणसँगै अन्य कर्मचारीहरुको दौडधूप पनि सुरु भएको छ । त्योसँगै अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका आयोजना निर्देशक पनि परिवर्तन गर्ने सम्भावना त्यत्तिकै छ ।

अर्कोतिर संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानोगौचरणका सुपरिटेन्डेन इन्जिनियर चक्रवर्ती कंठको पनि सरुवा हुने सम्भावना त्यत्तिकै छ । त्यसले गर्दा कांग्रेस र एमाले सरकारले पनि कर्मचारी सरुवा बढुवा गर्ने र सेटिङमा कमाउधन्दा चलाउने बाहेक अन्य काम गरेको पाइँदैन । उता शहरी विकास मन्त्रीका स्वकीय सचिव र मन्त्री सिंहकी श्रीमती कर्मचारी सरुवा बढुवामा खेलिरहेको श्रोतले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *