काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई भिजिट भिषा काण्डको आरोप लाग्दा त्यसको सत्य, तथ्य पत्ता लगाउन छानविन समिति ठगन गरिएको थियो । त्यो छानविन समिति त्यत्तिकै अलपत्र परेको छ । मन्त्री लेखकको छाविन समिति अलपत्र परेसँगै प्रहरी संगठनभित्रको भ्रष्टाचार र विकृति पनि त्यत्तिकै फैलिँदै गएको छ । त्यसको पनि नियन्त्रण पनि छानविन हुन सकेको छैन ।
उता, प्रहरी प्रदेश ऐन पनि ल्याउन सकेका छैनन् । विगत लामो समयदेखि प्रहरीभित्र दरबन्दी पनि थप गरिएको छैन । प्रहरीको दरबन्दी थप नहुँदा शान्ति सुरक्षामा बाधा परिराखेको छ । त्योसँगै नेपाल प्रहरीका अपराध अनुसन्धान शाखामा कार्यरत विनोद पौडेलले तल्ला दर्जाका प्रहरी र सर्वसाधारणलाई विदेश पठाउने नाममा एक करोड पचास लाख ठगी गरेको समाचार सार्वजनिक भएको थियो । तर, गृहमन्त्री लेखकले त्यतातिर ध्यान दिएका छैनन् ।
त्यसैगरी प्रहरी संगठनलाई आवश्यक गाडी, इन्धन, रासन, डे«स, जुत्ता, हतियारलगायतका सामग्री खरिदमा ब्यापक भ्रष्टाचार भइरहेको समाचार सार्वजनिक भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि हतियार खरिदको ठेक्का नै रद्द भएको छ । त्यसको पनि मन्त्री लेखकले निगरानी गरेर कारबाही गर्न सकेका छैनन् । त्यस्तै विनोद पौडेलले प्रहरीलाई मिसनमा पठाउँदा आफ्ना आसेपासे, नातागोता र पैसा दिनेलाई अवसर दिने गरेको स्रोतले उल्लेख गरेको छ ।
पैसा र पावर नहुने प्रहरीहरुलाई मिसनमा जानबाट बञ्चित गराउने गरेको बताइन्छ । अर्कोतर्फ निर्मला पन्त हत्या काण्डदेखि सहकारी ठगीमा मुछिएका जिवी राई र नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका व्यक्तिहरुलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । त्यसमा पनि गृहमन्त्री लेखक चुकेका छन् । प्रहरी संगठनभित्र व्यापक राजनीतिकरण हुँदा प्रहरीहरुले राम्रोसँग काम गर्न सकेका छैनन् ।
नेपाल प्रहरीका आइजीपी दीपक थापा उमेर हदको कारण यही भदौ १८ गते अवकास हुँदैछन् । थापाको अवकासपछि भावी आईजीपी बन्नको लागि सिनियरदेखि जुनियरसम्मको दौडधूप सुरु भएको छ । तर, भावी आईजीपी बन्नको लागि हाल अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङको सम्भावना बलियो देखिन्छ । किन कि रोलक्रममा पनि खापुङ पहिलो र जनजाति भएकाले पनि उनको आइजीपी बन्ने सम्भावना बलियो भएको बताइन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खापुङलाई नै भावी आईजीपी बनाउने तयारी गरेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले खापुङलाई अहिले आईजीपी बनाउने र जागिरबाट अवकास भएपछि एमालेबाट टिकट दिएर सांसद बनाउन योजना बनाएको स्रोतको दावी छ । ३० वर्षे सेवा अवधि र उमेरहदको कारण खापुङ ३ महिना हाराहारी मात्र आईजीपी बन्ने छन् । तर, गृहमन्त्री कांग्रेसका भएकाले आइजीपी नियुक्तिमा कस्तो सहमति हुने हो त्यो हेर्न बाँकी छ ।

