रास्वपाका सांसदहरु काण्डैकाण्डमा फस्दै

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पीडितहरुको बचत फिर्ता गर्ने भनेका थिए । सहकारी ठगीमा रास्वपाका नेता तथा सांसदहरु बढी देखिन थालेका छन् । रास्वपाका कतिपय सांसदहरुविरुद्ध त सहकारी ठगी मुद्दामा उजुरी परिरहेको छ । तत्कालीन सरकारले रास्वपा सभापति लामिछालाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा थुनामा पठाएको थियो । लामिछाने थुनामा परेपछि रास्वपाका नेता, कार्यकर्ताले ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक प्रतिशोधको आरोप लगाएका थिए ।

उनीहरुले सहकारी ठगी काण्डमा कांग्रेस र एमालेका नेताहरुलाई जोगाएको र आफ्नो सभापतिलाई थुनेको भन्दै विरोध गरेका थिए । आज रास्वपाकै दुईतिहाई हाराहारी बहुमतको सरकार भइरहँदा रास्वपा सभापति लामिछाने सहकारी ठगी कान्डबाट छुट्कारा पाउन सकेका छैनन् । त्यसैगरी लामिछानेका व्यवसायिक पार्टनर जिवी राई पनि सहकारी ठगीमा दोषी देखिएका थिए । तत्कालीन अवस्थामा फरार रहेका राई रास्वपा सरकार बनेको दुई महिना पुग्नलाग्दा पनि कहाँ कुन अवस्थामा छन् भन्नेबारे सम्बन्धित निकायलाई अत्तोपत्तो छैन ।

त्यस्तै रास्वपाबाट प्रतिनिधिसभा सदस्य रहेका धनञ्जय रेग्मीका स्वकीय सचिव तथा स्याङ्जा रास्वपाका नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध पोखराको मित्र मिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी नै जारी भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएर जेल सजाय खेपिरहेका सभापति लामिछाने रास्वपाको सरकार बनेपछि खुलखुला सुरक्षा गार्डसहित आफ्नो घरमा बसिरहेका छन् ।

उता, एकपछि अर्को गर्दै रास्वपाका सांसदहरु सहकारी ठगीदेखि सुकुम्वासीको नाममा सार्वजनिक जग्गा हडप्ने र विदेशी महिलालाई गर्भवती बनाउनेसम्मका हर्कमा मुछिन थालेका छन् । नेता र सांसदहरु कोही सहकारी गठी, कोही सार्वजनिक जग्गा हडपेर घर बनाउने, कोही विदेशी महिलालाई प्रलोभनमा पारेर गर्भवती बनाएर बेपत्ता हुने त कोही कर्मचारीलाई धम्क्याउने गर्न थालेपछि रास्वपाभित्र व्यापक विवाद सुरु भएको छ । रास्वपाका नेतानै सहकारी ठगीमा धेरै पर्ने देखिएपछि सहकारी पीडितका मुद्दा पनि ओझेलमा पर्ने खतरा त्यत्तिकै छ ।

उता सरकार सञ्चालनमा सभापति लामिछानेको सल्लाहबिना प्रधानमन्त्री बालेन्द्र साह एकलौटी ढंगले अगाडि बढिरहेको भन्दै असन्तुष्टि बढिरहेको छ । पार्टीभित्र सन्तुष्टि चुलिन थालेपछि रास्वपाले आगामी असार ७–९ गतेभित्र प्रथम महाअधिवेशन गर्ने तयारी गरिरहेको छ । नेता र सांसदहरु सहकारी ठगी र सरकारी जग्गा हडप्ने कान्डमा धमाधम मुछिन थालेपछि रास्वपाका केही नेता÷कार्यकर्ताहरुले राजीनामा दिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *