काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच कालीगण्डकी किनारमा सोमबार समन्वयात्मक बैठक बसेको छ ।
गल्याङ नगरपालिका वडा नम्बर १ मालुंगा उत्तरबाहिनीमा दुई प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको उपस्थितिमा आज समन्वयात्मक बैठक बसेको हो ।
बैठकमा दुई प्रदेशबीचको सम्बन्ध, अनुभव आदान–प्रदान, स्रोत साधनको प्रयोग, कानुन कार्यान्वयनमा एकरूपता र कालीगण्डकी सदुपयोगका विषयमासमेत छलफल भएका छन् ।
बैठकले यसअघिको बैठकका निर्णयको समीक्षासमेत गर्नेछ । यसअघि गत साल माघ ३० गते दुई प्रदेशको बैठकले २१ बुँदे घोषणा पत्र जारी गरेको थियो । दुबै प्रदेशलाई जोड्ने योजनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नेबारे पनि छलफल हुने लुम्बिनी सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले जानकारी दिए ।
बैठकमा कालीगण्डकी डाइभर्सनका विषयमासमेत छलफल हुनेछ । गण्डकीले अहिलेसम्म डाइभर्सनका विरोद्धमा आवाज उठाउँदै आइरहेको छ । दुई प्रदेशको समन्वय र सहमतिबिना कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नसक्ने गण्डकीले अडान राख्दै आएको छ ।