काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबै प्रकारका ग्राहकहरुकहाँ २४ सै घन्टा विद्युत् आपूर्ति गर्ने बताएका हुन् । स्थानविशेष अनुसार ६ घन्टादेखि १२ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएकोले औद्योगिक क्षेत्रका ग्राहकहरुलाई बेलुका पाँच बजेदेखि राति साढे १० बजेसम्म (पिक आवर)मा भने ‘लाइट लोड’मा उद्योग चलाउन अनुरोध गरिएको उनले बताएका छन् । यो भनेको त्यो अवधिमा उद्योगहरु पूर्ण रुपमा चल्ने नभई अत्यावश्यक मेसिनहरु बन्द हुन नदिन मात्रै विद्युत उपभोग गर्नुपर्ने देखिन्छ ।
१५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै बिजुली आयात गर्न दिन थालेपछि प्राधिकरणले दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।