काठमाडौं । तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैतदेखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ ।
केवी इन्टरटेनमेन्ट प्रालिले कर्णालीमा तेस्रो पटक यो चलचित्र कार्यशाला गर्न लागेको हो । गत वर्ष फागुनको २३ देखि २८ गतेसम्म आयोजित कार्यशालामा बेसिक कोर्स सिकेका विद्यार्थी र अन्य नयाँ विद्यार्थीहरूलाई यस पटक चलचित्रबारे एडभान्स कोर्सको प्रशिक्षण दिइने छ ।
कार्यशालामा यस पटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा लोकप्रिय कलाकार, दिनेश डिसी, पूर्व अध्यक्ष एवम् चलचित्र निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ । चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसीले प्रयोगात्मक सहितको कक्षा लिने छन् ।
कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरूले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकास बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, नविल बैंक, एनसेलको सहयोग रहेको छ ।