काठमाडौं । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् ।
नागी–राम्चे सडकको थावनगाउँ नजिकै छहरेखण्डमा गत असारको तेस्रो साता पहिरोले भत्काएको सडक ७५ जना स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् । करिब दुई महिनादेखि नागी–राम्चे सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतका साथै आलुलगायत कृषि उपज बजार पठाउन समस्या भएकोले सबै घरबाट एक–एक जनाले श्रमदान गरेर सडक खुलाएको स्थानीयवासी बताउँछन् ।
पहिरोसँगै भासिएको करिब सात मिटर दूरीको सडकमा जगदेखि नै पर्खाल निर्माण गरेर जिप, ट्याक्टर र मोटरसाइकल वारपार गर्न मिल्ने बनाइएको छ ।

