यस पटक गण्डकी प्रदेशका केही जिल्लामा पुग्ने मौका पाएँ । पञ्चासे वन संरक्षण क्षेत्र आसपास रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुसँग साक्षात्कार गर्ने मौका मिल्यो । सामुदायिक वनको पछिल्लो अवस्था र सामुदायिक वनका अगुवाको सोचाईका वारेमा धेरै जान्ने मौका पाएँ । यो मेरोलागि ठुलो सिकाईको पाठशाला भएको छ ।
सामुदायिक वन प्रति उपभोक्ता चासो घटेको थाहा थियो तर त्यसको मात्रा कस्तो होला भन्ने जिज्ञासा थियो । त्यसै गरी स्थायी लेखा नं लिनु पर्ने वाध्यता थियो । त्यस वारेमा सामुदायिक वनका पदाधिकारीहरुको धारणा जान्न रहर थियो । सामुदायिक वनका अभ्यासकर्ताले सामाना गरेका सवालहरु जान्ने रहर थियो । त्यो रहर रिकफ्ट नेपालले पूरा गरिदिएको छ ।
अघिल्लोको निरन्तर
अघिल्लो साताको श्रृखलामा पञ्चासे वन संरक्षण क्षेत्रमा सामुदायिक वनको मार्गदर्शन २०८१ अभिमुखीकरण गोष्ठीको वारेमा संक्षिप्तमा लेखेको थिएँ । त्यसमा वढि मलाई यो अवसर दिने रिकफ्ट नामक संस्थासँग मेरो व्यक्ति संलग्नता र त्यो संस्थाले नेपालको सामुदायिक वनकालागि खेलेको भूमिकाका वारेमा चर्चा गर्ने कोसिस गरेको थिएँ । अघिल्लो लेखको निरन्तरताको रुपमा यो श्रृखला लेख्न गैरहेको छु ।
जसरी पञ्चासे वन संरक्षण क्षेत्र आसपास रहेका सामुदायिक वनका अगुवा पदाधिकारीहरुकालागि अभिमुखीकरण आयोजना गरिएको थियो । यो भन्दा एक महिना अघि वागमती प्रदेश चितवनमा रहेको वरण्डाभार वन संरक्षण क्षेत्रमा पनि यहि कार्यक्रम आयोजना गरिएको थियो । त्यतातिर कुरा केही वेर संझन चाहन्छु ।
बरण्डाभार वन संरक्षण क्षेत्र
२०८२ श्रावण १४ गते रिकफ्टका पवन कार्की र म वुद्ध एयर मार्फत काठमाडौंबाट भरतपुर तिर लागेको थियौं । करिव २० मिनेटको यात्रामा भरतपुर विमानस्थल पुग्यौं । विमानस्थल नजिकै रहेको चितवन गार्डेन रिसोर्टमा वस्यौं ।
वन संरक्षण क्षेत्रका वारेमा धेरै जानकारी पाउने मौका पाएको थिइन । त्यही भएर वढि कौतुहलता नैं थियो । वरण्डाभार वन ंसंरक्षण क्षेत्र भनेको अरु संरक्षण क्षेत्र जस्तो होइन अर्थात गौरीशंकरण संरक्षण क्षेत्र भनेको जस्तो होइन । गौरीशंकरण संरक्षण क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत हो भने वरण्डाभार वन संरक्षण क्षेत्र चाँही वन ऐन २०७६ अन्तरगत पर्दछ ।
यहाँ स्वायत्त सामुदायिक वन पनि हुनसक्दछ । यस्तो वन संरक्षण क्षेत्रमा स्थलगत अध्ययन र छलफल गर्ने मौका मिलेको थिएन । यो मौकालाई सदुपयोग गर्ने मुडमा थिएँ । हामी श्रावण १४ गते नैं वरण्डाभार वन संरक्षण क्षेत्र परिषदको कार्यालयमा पुग्यौं । भोली देखि हुने अभिमुखीकरण गोष्ठीको तयारीका वारेमा त्यहाँका प्रवन्धकसँग कुराकानी ग¥यौं । हल हे¥यौं । अनी फर्कियौं ।
यस वरण्डाभार वन संरक्षण क्षेत्र अन्तरगत १७ वटा सामुदायिक वन उपभोक्ता समूहहरु क्रियाशिल रहेछन् । यी समूहहरुले ३ हजार २५१ हेक्टर वन हस्तान्तरण गरि लिई व्यवस्थापन गरिरहेका छन् । त्यसै गरी ३६ वटा कवुलियती वन उपभोक्ता समूहहरुले १४० हें र ५ वटा धार्मिक वनले ९ हेक्टर ओगटेको रहेछ । यी सवैको वनहरुको विचमा कोर एरिया भनी ६ हजार ९ सय २२ हेक्टर वन क्षेत्र रहेछ ।
वन संरक्षण क्षेत्रको कोर वन क्षेत्रका वरीपरी रहेका १७ वटा सामुदायिक वनहरुलाई थोरै हेक्टर वन हस्तान्रण गरेको तर संरक्षण भने कोर एरियाको वन क्षेत्रमा पनि गर्नु पर्ने रहेछ । परिषदको कार्यालयसँगै जोडिएको नवजागृती सामुदायिक वन उपभोक्ता समूहलाई ३१५ हेक्टर वन क्षेत्र हस्तान्तरण गरिएको रहेछ तर त्यो सामुदायिक वन उपभोक्ता समूहले १०८३ हेक्टर वन संरक्षण गर्ने जिम्मा रहेछ ।
यो सामुदायिक वन उपभोक्ता समूहले गणेशमान वन संरक्षण पुरस्कार सान्तवना तर्फ प्राप्त गर्न सफल भएको छ । जुन पुरस्कार यसै वर्षको सामुदायिक वन दिवसको दिनमा वितरण गरिएको थियो । वन संरक्षण क्षेत्र भित्रको कोर एरियाबाट ढलापडा, सुख्खा खडा निकालेको काठलाई ३ भाग लगाइदोरहेछ । एक भाग टिसिएनले, एक भाग जिल्ला वन पैदावर आपुर्ती समितीलाई र तेस्रो भाग सामुदायिक वन उपभोक्ता समूहहरुले पाउँदो रहेछ ।
टिसिएनले लगेको काठको पनि प्रति क्यूविक फिटको रु १३० सामुदायिक वन उपभोक्ता समूहले पाउँदो रहेछ । आपुर्ति समितिले लगेको काठ विक्रि वापतको रकम भने सामुदायिक वन उपभोक्ता समूहहरुले कार्यक्रमिक सहयोग लिंदा रहेछन् । समूह आफैंले व्यवस्थापन गरेको भने कार्ययोजना अनुसार वन पैदावरको विक्रि वितरण गर्ने गर्दछन् ।
सामुदायिक वनको मार्गदर्शन, २०८१ को मूख्य प्रावधान सहितको अभिमुखीकरण सञ्चालन गरियो । पहिलो दिन ८ वटा समूहका पदाधिकारीहरु थिए भने दोस्रो दिनमा ९ वटा समूहका पदाधिकारीहरुको सहभागीता थियो ।
पञ्चासे वन संरक्षण क्षेत्र
पञ्चासे क्षेत्र कास्की, पर्वत र स्याङ्जा जिल्लाको संगम स्थान रहेछ । कास्की जिल्लाको पोखरा महानगरपालिकाका २ वटा वडाहरु पञ्चासे वन संरक्षण क्षेत्र भित्र पर्दोरहेछ । वडा नंं २२ र २३ । अन्नपुर्ण गाउँपालिकाको वडा नं ४, स्याङ्गजा जिल्लाका आँधिखोला गाउँपालिकाको वडा नं ४ र फेदिखोला गाउँपालिकाको ४ र ५ नं वडा त्यसै गरी पर्वत जिल्लाको कुष्मा नगरपालिका वडा नं १४ र मोदी गाउँपालिका वडा नं. ७ र ८ यस वन संरक्षण क्षेत्रमा पर्दछ ।
कास्की, स्याङ्जा र पर्वतको सिमानामा रहेको पञ्चासे वन संरक्षणले ५ हजार ७ सय ७६ हेक्टर ओगटेको छ । यस भित्र १०८ बटा सामुदायिक वनहरु रहेका छन् । सामुदायिक वनले ओगटेको क्षेत्र वाहेकको क्षेत्र पनि छ त्यसको संरक्षणमा समेत विशेष ख्याल गर्न वन संरक्षण क्षेत्र बनाएको रहेछ । यहाँ सामुदायिक वनहरुबाट प्रतिनिधित्व गर्दै जिल्लागत इकाई समिति र ३ वटै जिल्ला समेटिएको मुल परिषद् पनि छ ।
यहाँका सामुदायिक वनहरु वन ऐन २०७६ अनुसार नैं सञ्चालन भैरहेको छ । परिषदले सरकारले निर्धारण गरेको केही कार्यक्रमहरु हुँदा रहेछन् ती काम पनि सामुदायिक वनहरु मार्फत नैं सञ्चालन गर्ने गरिंदो रहेछ । वरण्डाभार वन संरक्षण क्षेत्रमा काठबाट आम्दानी हुने भएता पनि पञ्चासेमा आम्दानीको स्रोत पहिचान हुन सकेको देखिएन । बरण्डाभार वन संरक्षण क्षेत्र परिषद र सामुदायिक वनहरुमा नेतृत्व पुग्न होडवाजी नैं देखिन्छ भने पञ्चासेमा धेरै जोडजुलुम गरेको पाइएन । नेतृत्व हस्तान्तरण गर्न गराउनकालागि कोही नयाँ पुस्ता तयार नभएको गुनासो धेरै सुनियो ।
अगुवाहरुको भनाई
स्थायी लेखा नं (पान) लिन लगाइयो । कार्वन वेचेको पैसा लिन पानं नभई हुन्न भनियो । खै कार्वन वेचेको पैसा पनि आएन । त्यो पान थेग्न मुस्कील परेको छ । समिति हन्तान्तरण गर्ने मानिस पाइएन । दाउरा कसैले लाँदैनन् । काठ पनि चाहिँदैन । के कोलागि चाहियो सामुदायिक वन ? उनीहरुको प्रश्न माथि प्रश्न छ । सामुदायिक वन प्रति चासो घटेको छ । यद्यपी अभिमुखीकरण गोष्ठीमा राम्रो सहभागिता देखिन्थ्यो । कतिपय निर्वाचित वडा अध्यक्ष तथा सदस्यको पनि उत्साहजनक सहभागीता रहेको थियो ।
वन प्रति उपभोक्ताको संलग्नता कमी भएको छ । उपभोक्ता जीवनसँग वन जोडिएन । वन वढेर वाँदर लगायतका वन्यजन्तुले हैरान पारे । लौ न उपाय दिनु प¥यो । यो कार्यशालामा सवै भन्दा वढि छलफल भएको विषय नैं यहि थियो । अधिकांश उपभोक्ता समूहका अगुवाले वनबाट आम्दानी हुँदैन । त्यसकारण सामुदायिक वनका नियमित काम समेत गर्न सकिएन भन्ने कुरा आयो । यसका वारेमा वनका अधिकारवाला तथा सरोकारवालाले सोच्नै पर्ने अवस्था आएको छ ।
होमस्टेको वसाई र विदाई
हामी कुष्मा नगरपालिका वडा नं. १४ मा भने सामुदायिक होमस्टेमा वास वस्यौं । त्यहाँ २ रात वास वस्नु परेको थियो तर फरक फरक घरमा । रमाइलोसँग स्वादिष्ट खाना खाइयो । अलौटा मकै विहानैं खाएर हामी हिड्न थाल्यौं । होमस्टे सञ्चालक तथा हाम्रा घरभेटी दिदी र दाईले खादा सहित हामीलाई विदाई गर्नु भयो ।

