किन बढ्छ नेपालमा विदेशी चलखेल !

राजनीति समाचार

काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी पुस्ताको नाममा गरिएको आन्दोलनमा घुसपैठ हुँदा त्यसले उग्ररुप लिई सरकारी भौतिक संरचनादेखि निजी उद्योगधन्दा र नेताहरुको घर तोडफोड, आगजनी र लुटपाट मच्चाइएको छ ।

त्यसले गर्दा सर्वसाधारण जनताहरु आतंकित बन्न पुगेका छन् । आन्दोलनकारीहरुले सरकारी संरचनासँगै निजी क्षेत्रमाथि पनि आक्रमण गरेर ठूलो मात्रामा जनधनको क्षति पु¥याएका छन् । निजी क्षेत्रमा धेरै विदेशीभन्दा स्वदेशी लगानी भएका उद्योगमाथि बढी क्षति भएको छ । नेपालमा हुने गरेका जुनसुकै आन्दोलनहरुमा प्रायःजसो नेपालीको लगानी भएका निजी क्षेत्रमाथि आक्रमण हुँदै आएका छन् । यस पटक जेन–जी पुस्ताको नाममा गरिएको आन्दोलनमा पनि नेपाली लगानीकर्ता बढी पीडित भएका छन् ।

तर, विदेशी लगानीकर्ताको भने नेपालीको तुलनामा कम क्षति भएको पाइन्छ । त्यसले गर्दा नेपालीहरु नेपालमा उद्योगधन्दा सञ्चालन गर्न डराउने गरेका छन् । कतिपय उद्योगीहरुले त विदेशमा गएर उद्योग धन्दा सञ्चालन गर्दै आएका छन् भने नेपालमा भएको सम्पत्ति पनि विदेशतिर लगेर लगानी गर्ने गरेका छन् । त्यो सिलसिला झन् बढ्ने देखिन्छ । अर्कोतिर नेपाल सरकारका उच्च तहका कर्मचारी, नेता, मन्त्री र पूर्व प्रशासकहरुले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति छोराछोरी पढाउने नाममा विदेशतिर लगेर व्यापारमा लगानी गर्ने गरेका छन् ।

नेपालमा भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गर्ने विदेश पठाउने र उनीहरुका छोराछोरीले विदेशमा घर बनाउने गरेका थुप्रै उदाहरण छन् । त्योसँगै व्यापारीहरुले पनि नेपालमा सुरक्षाको ग्यारेन्टी नभएपछि राजश्व छली र कालाबजारी गरेर कमाएको सम्पत्ति विदेशमा लागनी गर्ने गरेका छन् । नेपालीहरु रोजीरोटी र अध्यनको नाममा दिनप्रतिदिन विदेशिने लहर चलिरहेको छ भने विदेशीहरु नेपालमा चलखेल गरेर नेपाललाई ध्वस्त बनाउने काम गरिरहेका छन् ।

खासगरी कांग्रेस र एमाले गठबन्धन सरकार बनेपछि ‘र’का एजेन्टहरुले नेपालमा आएर विभिन्न राजनीतिक दलका नेतादेखि सुरक्षा निकायका प्रमुखहरुसँग समेत साठगाँठ गरी नेपालको जासुसी गरिरहेका थिए । उनीहरुको त्यो जासुसी गत भदौ २३ र २४ गतेको आन्दोलनले सफल बनाएको छ । उनीहरुको रणनीतिमा नेपालको सुरक्षा निकाय नराम्रोसँग चुकेको छ । त्यसले गर्दा नेपाल अझै बढी जोखिमतिर धकेलिने सम्भावना बढ्दै गएको छ ।

नेपालका सबै राजनीतिक दल, पत्रकार, प्राध्यापक, बुद्धिजीवी, न्यायालय, सुरक्षा निकाय, विद्यार्थी, वकिल, व्यापारी, नागरिक समाज, उपभोक्ता, कर्मचारी र राजनीतिमा उदीयमान जेन–जी पुस्ताहरु एकजुट भएर राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डतालाई बलियो बनाउन जरुरी देखिन्छ । अहिलेको आन्दोलनबाट आउने परिवर्तनले सार्थकता पाउँछ । अन्यथा पहिलाकै जस्तो एउटाले बनाउने, अर्कोले भत्काउने, एउटा समर्थन गर्ने अर्कोले विरोध गर्ने र एउटाले जोगाउन खोज्ने अर्कोले बिगार्ने काम भइरहन्छ । त्यसैले गर्दा आगामी दिनमा जेन–जी पुस्ताले ल्याएको आन्दोलनको उभारलाई उपयोग गर्दै सम्पूर्ण तह, तप्का, वर्ग, समुदाय सच्चा नेपाली भएर अगाडि बढ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *