काठमाडौं । नेपालमा केही न केही घटना भयो कि छानविन समिति बनिहाल्छ । चाहे सुन तस्करी होस्, चाहे प्लेन दूर्घटना होस्, चाहे त्यो आगलागी नै किन नहोस् । सरकार र सम्बन्धित निकायले छानविन समिति बनाइहाल्छ । तर, अहिलेसम्म सरकारले बनाएका छानविन समितिले निष्पक्ष ढंगले छानविन गरेको पाइँदैन । कतिपय छानविन समितियले प्रतिवेदन पनि सार्वजनिक नगरी त्यसै गुपचुप गरिन्छ ।
त्यसको उदाहरण बनेको छ नेपाल सशस्त्र प्रहरी बल । सशस्त्र प्रहरीको केन्द्रीय स्टर बलम्बुमा आगोलागेको करिव साढेदुई वर्ष हुँदा पनि छानविन समितिको प्रतिवेदन गोप्य राखिएको छ । कारण हो उक्त स्टोरमा विद्युत लाइन नै जडान गरिएको थिएन ।
तर, संगठनका उच्च कर्मचारीलाई बचाउनको लागि विद्युतको लाइन सर्ट भएर आगो लागेको हो भनी छानविन समितिलाई प्रतिवेदन पेश गर्न आदेश भएको थियो । सो आदेश भएअनुसार छानविन समितिले प्रतिवेदन पेश गरेको थियो ।
राज्यको सम्पत्तिमाथि नियतवस आगो लगाउन लगाउने कर्मचारी को हुन् त ? किन सशस्त्र प्रहरीको गोदाममा मात्रै पटक–पटक आगो लाग्छ ? यसमा सय प्रतिशत जानाजान आगो लगाउन लगाएको हुनुपर्छ । पहिला प्रधान कार्यालयको केन्द्रीय लेखाको स्टोरमा आगो लगाउन सोही लेखामा कार्यरत हवल्दार रामकृष्ण श्रेष्ठलाई उक्साएर आगो लगाउन लगाइएको थियो भने केन्द्रीय लत्ताकपडा भण्डारणमा कसले आगो लगाएको हो त ? भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । त्यसको लागि छानविन गर्नुपर्ने हुन्छ । तत्कालीन प्रवन्धक शाखामा प्रमुख र आ.प्र.शाखा प्रमुखको ठूलो हात रहेको बताइन्छ । उक्त समयमा स्पोर्ट सूज खरिदको लागि टेण्डर भएको थियो ।
र, केही थान सूज स्टोरमा ल्याई आगो लगाइएको थियो । आगो लगाइसकेपछि सबै सूज स्टोरमा भण्डारण भइसकेको र त्यहीं जलेर नष्ट भएको भनी भाष्य निर्माण गरिएको थियो । छानविन पनि कसरी होस् त । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका ज्वाइ दिपेन्द्र कुँवर प्रवन्ध महाशाखा प्रमुख थिए । उनी आर्थिक लेनदेनमा चतुर भ्रष्ट कर्मचारी हुन् भन्दा फरक पर्दैन भन्दैछन् सशस्त्रभित्रकै कर्मचारीहरु । त्यसले गर्दा भ्रष्टहरु सबैले छुट पाउँदै आएका छन् भनेर सशस्त्रमा हल्ला चल्दै छ । फेरि कसले कहाँ र कतिपटक आगो लगाउने हो त्यसको प्रवाह छैन भन्नेहरुको पनि त्यत्तिकै ताँती छ ।
उता सशस्त्रका एसएसपी होम ज्ञावलीले सशस्त्रभित्र लूट मच्चाइरहेका छन् । नेपाल सरकारले सीमित स्रोतसाधनमा मर्मर्त संभारको लागि देशैभरिका सशस्त्र प्रहरी कार्यालयमा बजेट पठाउने गरिएको छ । त्यसरी देशैभरिका सशस्त्र प्रहरी कार्यालयमा बजेट पठाए बापतको ५० प्रतिशत कमिसन वार्षिक रुपमा बुझाउनुपर्ने हुन्छ । यदि पठाएको बजेटको ५० कमिसन नदिएको खण्डमा थप बजेट नपठाउने गरेको कारण कार्यालय प्रमुख र लेखापालहरुले हैरानी खेपिरहेका छन् ।
त्यसले गर्दा देशैभरिका सशस्त्र प्रहरी बलका कार्यालयहरुबाट लिएको कमिसन हुन्डीमार्फत अमेरिका पठाउने स्रोतले उल्लेख गरेको छ । किन कि एसएसपी होम ज्ञावलीकी श्रीमती अमेरिकामा बस्दै आएकी छिन् । श्रीमती अमेरिकामा बस्ने भएकाले उनलाई खर्च भन्दै हुन्डीमार्फत् सशस्त्र प्रहरी कार्यालयबाट लिएको कमिसन अमेरिका पठाउने गरेको बताइन्छ । एसएसपी होम ज्ञावलीको यस्तो रवैयाले ‘जो रक्षक, उही भक्षक’ भन्ने भनाइ सशस्त्र प्रहरीभित्र चरितार्थ भएको छ ।

