‘नेताहरुले जस्तासुकै आयोजना अगाडि बढाए पनि सचिवहरुको काम आँखा चिम्लिने ? कार्यकर्ता रिझाउनका लागि राखिएका योजना स्थगन गर्दा खुशी हुनुपर्नेमा उल्टो दुःख मनाउ गर्दै सरकारविरुद्ध उत्रने ?’
एक मन्त्रीले यसरी हकारे वर्तमान सरकारका सचिवलाई । हकार्ने मन्त्री हुन रामेश्वर खनाल अनि मन्त्रीको हप्की भेट्ने सचिव उनै गोपाल सिग्देल । शहरी सचिवको जिम्मेवारीमा रहेका सिग्देललाई कुन हदसम्म पेलिएको छ भने एकातिर तजबिजीमा हालिएको अर्बाै बजेट अर्थले कैची चलाइदिएको छ । अर्काेतिर उपप्रधानसहित शहरी विकास मन्त्री हुँदा प्रकाशनमान सिंह र उनका स्वकीय यूपि लामिछानेले राम्रो खोका बुझेर आकर्षक कार्यालयमा नियुक्त भएका नेवार कम्युनिटीका सहसचिवहरु अहिले छानी छानी फालिएका छन् । त्यहाँ झनै विवादित पृष्टभूमिका कर्मचारीहरुलाई ल्याइएको छ ।
हिजो प्रकाशनमानका बुवादेखि आमाका नाममा दर्जनौं टुक्रे योजानमा १ लाखदेखि ३ करोडसम्म बजेट खन्याइएको थियो । रामेश्वरले शहरीका ६१ अर्ब ७६ करोड रुपैयाँबराबरको २ हजार १ सय खुद्रे योजनाको बजेट रोक्का गरिदिएकै कारण सरकार,अर्थमन्त्री रामेश्वर खनालको गतिविधिप्रति तीतो पोखेका थिए शहरी सचिव गोपाल सिग्देलले । यो घटना हो गत २८ कार्तिकको । सो दिन आयोजित चालु आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनबारे आयोजित बैठकमा सचिव सिग्देल र मन्त्री रामेश्वर खनालबीच नोकझोक चलेको हो ।
सो बैठकमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल र विभिन्न मन्त्रालयका सचिव सहभागी थिए ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ मा प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने भनिएको २ सय वटा नयाँ झोलुङगे पुल निर्माण गर्ने, १ सय वटा झोलुङगे पुलको मर्मत सम्भार गर्ने, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने, ३० वटा सडक पुल निर्माण गर्ने, २४९ वटा सिंचाई आयोजना सम्पन्न गरी ३ हजार ७ सय हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने कार्यक्रम रोक्कामा गरेको थियो । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खर्च कटौती गर्न तीन करोड रुपैयाँसम्मका टुक्रे आयोजनाहरू रोक्का गर्ने निर्णय गरेको थियो । खर्च कटौतीअन्तर्गत अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरूबाट १ खर्ब २० अर्ब बजेट रोक्का हुँदा सबैभन्दा धेरै सहरी विकास मन्त्रालयको सबैभन्दा बढी २ हजार १ सय खुद्रे योजनाको ६१ अर्ब ७६ करोड बजेट रोक्का भएसँगै सचिवले उक्त बैठकमा असन्तृष्टि पोखेका थिए ।
जसै प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धमा समीक्षात्मक प्रस्तुतीकरण गरे । उनी पछि बोलेका शहरी विकास मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देलले सरकारको निर्णय चित्त नबुझेको बताएपछि मन्त्री खनालले प्रश्न गरेका थिए नेतादेखि कार्यकर्तालाई खुशी तुल्याउन राखेका टुक्रे र तयारीविनाका आयोजना स्थगन गर्दा देशलाई के नोक्सानी हुन्छ भनेर प्रतिप्रश्न गरेका थिए । मन्त्री कडा रुपमा प्रस्तुत भएसँगै सिग्देलले आफ्नो बचाऊमा मन्त्रिपरिषद्को निर्णयको विरोध नगरेको तर बजेट रोक्काका कारण मन्त्रालयको भौतिक प्रगति देखिन नसकेको कुरा राखेर हिडेका थिए ।
उता मुख्य सचिव एकनारायण अर्यालले पूरै समय मुख्य सचिव चलाउने भएका छन् । उनी मंसिर १० पछि उमेर हद लागेर घर जानेछन् । त्यस पछि मुख्य सचिवमा प्रहरीको झैं रोलक्रम नमिचिएको खण्डमा सुमन अर्यालले बाजी मार्नेछन् तर एकनारायणको जोडबल जसरी हुन्छ,कृष्णहरि पुष्करलाई मुख्य सचिव बनाउनेतिर रहेको छ । आफू मुख्य सचिव हुँदा नै उनले कृष्णहरिलाई आफू पछिको मुख्य सचिव बनाउने बचन बद्धता दिएका थिए ।
पुष्करको भारतीय र अमेरिकन दुतावास दुबैतिर राम्रो सम्बन्ध भएको,अहिलेको सरकार समेत पश्चिमी शक्तिको जोडबलमा नियुक्त भएका कारण कृष्णहरिले बाजी मार्न सक्ने पनि बताइन्छ । यदी यी दुबै भएनन् भने महिला प्रधानमन्त्री भएका कारण जसरी महिलालाई नै महान्यायधिवक्ता बनाइन,उसैगरी सुशीलाले प्रमिला व्रजाचार्यलाई मुख्य सचिव बनाउन पनि सक्छिन् भनिदैंछ । कडा स्वभावका तर कानुनभन्दा दायाँबायाँ नजान्ने र कहिल्यै नहेर्ने मधुसुदन बुर्लाकोटीसमेत मुख्य सचिव बन्ने दौडमा रहेको बुझिएको छ ।

