काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रामेश्वर खनालले सम्हालिइरहेका छन् । खनालले मन्त्रालय सम्हालिइरहँदा कर्मचारी सरुवामा व्यापक असन्तुष्टि छाएको छ । सरकारले कर्मचारी सरुवामा मनपरी गर्दा कर्मचारीहरुले पनि काम गर्ने वातावरण नभएको गुनासो गरिरहेका छन् । राजश्व अनुसन्धान विभाग प्रशासन समूहका कर्मचारीहरु उपसचिव, शाआ अधिकृत, नासुहरुलाई अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी सामान्य प्रशासनको अतिरित्त शाखामा सरुवा गरिएको छ ।
महानिर्देशक तिर्थ चिलवालले रोजेर र खोजेर ल्याएका कर्मचारीलाई मन्त्री खनालले सामान्य प्रशासनमा सरुवा गर्दा महानिर्देशक चिलवाल पनि सरुवा हुने भएका छन् । अर्थमन्त्रालयले आफू मातहतका निकायमा कर्मचारी सरुवा गर्ने तयारी गरिरहेको छ । संघिय मन्त्रालय र अर्थ मन्त्रालय रामेश्वर खनालले सम्हालेको कारण अर्थमन्त्रालय र संघिय मन्त्रालयमा कर्मचारी सरुवामा व्यापक धाँधली भएको बताइन्छ ।
संघिय मन्त्रालयमा तीन जना महिला सहसचिव छन् भने ती महिला सहसचिवहरु मिरा आचार्य, पार्वती शर्मा, निता पोखरेलको डिजाइन अनुसार कर्मचारी सरुवा हुने गरेको छ । त्यसमा महिला सचिव छिन् चन्द्रकला पौडेल । पौडेल र तीन जना सहसचिवहरुको डिजाइन अनुसार कर्मचारी सरुवा हुने गरेको बताइन्छ । सचिव भर्खरै सरुवा भएर आएको कारण कर्मचारी सरुवामा ध्यान नदिएको तर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आमा समूह जस्तो भएको कर्मचारीहरुले बताएका छन् ।
उता, राजश्व अनुसन्धान विभाग अर्थमन्त्रालय मातहतमा आएपछि अर्थमन्त्री खनालले अर्थ मन्त्रालय मातहतमा रहेका राजश्व अनुसन्धान विभागदेखि राजश्व कार्यालय, भन्सार विभाग तथा कार्यालय र कर कार्यालयमा नयाँ कर्मचारी पठाउने खेलोफड्को गरिरहेका छन् । कतिपय कर्मचारीहरु स्थानीय तहको कार्यकारी प्रमुख भएर जानको लागि मन्त्री खनालसँग समन्वय गरिरहेका छन् । मालदार स्थानीय तह, भन्सार र कर कार्यालयहरुमा मन्त्री खनालले आफू निकट कर्मचारीलाई छानीछानी पठाउन थालेपछि अधिकांश कर्मचारीहरु रुष्ट बन्न पुगेका छन् ।
सचिवहरु सरुवामा पनि अर्थमन्त्री खनालले मनमरी गरेको कर्मचारीहरुले आरोप लगाउन थालेका छन् । भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार नाथ शर्मालाई रक्षा मन्त्रालय पठाइएको छ । रक्षा मन्त्रालयका सुमन अर्याल मुख्यसचिव भएपछि शर्मालाई रक्षामा पठाइएको हो । त्यसैगरी मधेश प्रदेशका मुख्य सचिव मदन भुजेललाई भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ल्याइएको छ । कोशी प्रदेशका चन्द्रकला पौडेललाई संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।
तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले गत मंसिर ८ गते चार जना सचिवहरु सरुवा गरेर बद्नाम हुदैँ मुख्य सचिवबाट बिदा भएक थिए । त्यसले गर्दा सचिवहरु पनि रुष्ट बनेका छन् । कर्मचारी नै संघीय मन्त्री भएको कारण भेगीय र क्षेत्रीय आधारमा कर्मचारी सरुवामा पर्ने गरेका छन् । जुनसुकै पार्टी अथवा वादीको सरकार बने तापनि पहिलो निशाना कर्मचारी सरुवा पर्ने गरेका छन् । विभिन्न दल निकट कर्मचारी संघ, संगठनका नेताहरुले पनि कर्मचारी सरुवामा चासो देखाएका छैनन् ।
किन कि नेपाली कांग्रेस निकट कर्मचारी युनियनले त लामो समयदेखि अधिवेशन गर्न नसकेर कावा अध्यक्ष उत्तम कटुवालले चाइरहेका छन् । कावा अध्यक्षको आदेश मन्त्री र सचिवले मान्दैनन् ।
उता, एमाले निकट कर्मचारी संगठनका नेताहरु आफ्नो पद जोगाउने र महाधिवेशनको लागि प्रतिनिधि छनोटमा व्यस्त रहेका छन् । प्रतिनिधि छनोटको काम पेशागत महासंघले गर्ने छ । त्यसैको लागि एमाले निटक कर्मचरी नेताहरु लागि परेका छन् । त्यसमा पनि कोही ईश्वर पोखरेल र कोही केपी ओली पक्षधर भन्दै प्रतिनिधि छनोटतिर लागेका छन् ।
त्यसैगरी १२ वटा दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी निकट कर्मचारीहरु संगठित हुन सकेका छैनन् । त्यसले गर्दा पनि कर्मचारी सरुवामा अन्यौलता छाएको छ । उता, प्रधानमन्त्री शुशिला कार्की कर्मचारी संगठन नै खारेज गरिदिने पक्षमा लागिपरेकी छिन् । त्यसले गर्दा पनि कर्मचारीहरुमा काम गर्ने मनस्थिति नभएको बुझिन्छ । मन्त्री खनाल भने आफू निकट कर्मचारीहरुलाई काखी च्यापेर मालदार अड्डामा खटाउने धुनमा लागिपरेका छन् । जुनसुकै मन्त्री आए तापनि कर्मचारीको योग्यता, क्षमता र अनुभवको मूल्याङ्कन नहुने भएपछि कर्मचारीहरुमा काम गर्ने मनोबल खस्किँदै गएको छ ।

