काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री शुशिला कार्की मातहतमा रहे तापनि वैदेशिक रोजगारी सम्बन्धी कुनै नीति नियम बनाएर लागु गर्न सकेकी छैनन् । न वैदेशिक रोजगार सम्बन्धी नीति नियम बनाउन सकेकी छिन् न मन्त्री नै नियुक्ति गर्न सकेकी छन् । लामो समयदेखि सरकारले श्रममन्त्री नियुक्ति गर्न नसक्दा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त बनेको छ । त्यसले गर्दा सरकारले मलेसियाको कामदार कोटासमेत गुमाउन पुगेको छ । श्रम मन्त्रालय, बोर्ड र विभाग कर्मचारीहरु भने विदेश भ्रमणमै मस्ती गरिरहेका छन् ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उपे्रती, वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई र श्रम मन्त्रालयका सह–सचिव कृष्ण प्रसाद सापकोटा हप्तादिन अगाडिदेखि जापान भ्रमणमा रहेका छन् । जापान भ्रमणमा निस्किएकोे टोली पर्सी २६ गते स्वदेश फर्किने बताइएको छ । उनीहरु करिव दुई हप्ता लामो विदेश भ्रमण सकेर स्वदेश फकिँदै छन् ।
महानिर्देशक विदेश भ्रमणमा रहेको बेला यता वैदेशिक रोजगार विभागमा ठगीका उजुरी दिन जाने पीडितहरु झन् पीडित बनिरहेका छन् । विभाग परिसरमा रहेका विचौलियाहरुले एउटा उजुरी लेखेबापत प्रतिव्यक्ति ३ हजारदेखि ५ हजारसम्म असुलेको पाइन्छ । तर, महानिर्देशक भट्टराईले त्यतातिर ध्यान दिएका छैनन् ।
विभागका कर्मचारीहरुलाई पनि तितरवितर बनाएर काम गर्ने वातावरण बिगारिरहेका छन् । आम्दानी हुने शाखाहरुमा आफ्ना आसेपासे फिट गर्ने र आम्दानी हुने शाखाहरुमा अरुलाई पठाउने कारणले कर्मचारीहरु असन्तुष्ट बनिरहेका छन् । कर्मचारीहरु असन्तुृष्ट बनेपछि विचौलियाहरुले खेल्ने मौका पाइरहेका छन् । आफू ठगिएको पीडा लिएर उजुरी दिन जाने पीडितहरुलाई विचौलियाहरुले झन् पीडित बनाउने काम गरिरहेका छन् । विभागमा यस्तो विकृति र विसंगति हुँदा पनि महानिर्देशक भट्टराई विदेश भ्रमण गर्ने र सचिव बन्ने दौडधूपमा लागिपरेका छन् ।
विभागीय मन्त्री नभएको फाइँदा उठाउँदै महानिर्देशक भट्टराईले वैदेशिक रोजगार विभागमा कमाउधन्दा चलाइरहेका छन् ।श्रम मन्त्रालयको जिम्मेवारी लिएकी प्रधानमन्त्री कार्कीले पनि न मन्त्री नियुक्ति गर्न सकेकी छिन् न त वैदेशिक रोजगार विभागमा हुने विकृति, विसंति नै हटाउने पहल गरेकी छिन् । देश रेमिट्यान्सको भरमा चलिरहेको छ । तर, रेमिट्यान्स पठाउने कामदारहरु विदेश जाँदा विचौलिया, म्यानपावर व्यवसायी र सरकारी कर्मचारीहरुबाटै ठगिइरहेका छन् ।
विचौलिया र म्यानपावर व्यवसायीहरुले मनलाग्दी पैसा असुलेर नक्कली डिमान्ड लेटर खडा गरी नेपाली युवायुवतीलाई विदेश पठाउने गरिरहेका छन् । विचौलियामार्फत् विदेश जाने अधिकांश नेपालीहरुले यहाँ तोकिएको काम र पारिश्रमिक नपाएर अलपत्र परिराखेका छन् । कतिपय काम नपाई ठगिएर फर्किएकाहरुले विभागमा उजुरी दिन जाँदा पनि कर्मचारी र विचौलियाहरुबाट ठगिइरहेका छन् । त्यस्तो विषयमा न सरकारले ध्यान दिएको छ, न त सम्बन्धित विभागले नै ध्यान दिएको छ ।

