काठमाडौं । राजनीतिक दलहरु टुटफुट भएसँगै दल निकट कर्मचारीहरुदेखि विभिन्न जनवर्गीय संगठनहरु पनि टुटफुटको अवस्थामा पुगेका छन् । कम्युनिस्ट पार्टीहरुमा एकता नहुँदा तिनका जनवर्गीय संगठनहरु पनि फुटको संघारमा पुगेका छन् । त्यसले गर्दा कम्युनिस्ट पार्टीलाई घात भइरहेको छ । निर्वाचन नजिकिएसँगै नेपाली कम्युनिस्ट पार्टीले कर्मचारी संगठनदेखि जनवर्गीय संगठनहरुलाई चलायमान बनाउन सकेको छैन भने नेकपा एमाले निकट निजामती कर्मचारी संगठन र जनवर्गीय संगठनहरु पनि पहिलाको जस्तो चलायमान छैनन् ।
नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा गरिरहँदा कतिपय कर्मचारीहरु पोखेरलको पक्षमा थिए भने कतिपय ओली पक्षमा लागेका थिए । ११ औं महाधिवेशनबाट अध्यक्ष ओली निर्वाचित भएपछि पोखरेल पक्षका कर्मचारी, कार्यकर्ता र जनवर्गीय संगठनहरु सहज रुपमा खुल्न सकेका छैनन् । त्यसले गर्दा आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेलाई अन्तर्घात हुने देखिन्छ । निर्वाचनको लागि टिकट वितरण गर्दा पनि संस्थापक्ष हावी भएको र इतरपक्षले बेवास्ता गरेको गुनासो आइरहेको छ । त्यसले गर्दा आगामी प्रतिनिधि सभाको निर्वाचनमा एमाले पहिलो पार्टी हुने सम्भावना कम हुँदै गएको छ ।
उता, नेपाली कम्युनिस्ट पार्टीभित्र जनवर्गी संगठन र कर्मचारी संगठनहरु चलायमान नहुँदा चौथो स्थानतिर धकेलिने सम्भावना बढ्दै गएको छ । अर्कोतिर स्वतन्त्रबाट निर्वाचन लड्नेहरुको पक्षमा न त कर्मचारी संगठन छ न त जनवर्गीय संगठन नै छन् । जनवर्गी र कर्मचारी संगठन नभएकै कारण स्वतन्त्रहरुलाई आगामी निर्वाचन फलामको चिउरा बन्दै छ । हुन त दलहरुबाट बिच्किएका नेता, कार्यकर्ता र कर्मचारीहरुले स्वतन्त्रलाई भोट नदेलान् भन्न सकिँदैन । तर, दलीय आडमा खडा भएका जनवर्गी संगठन र कर्मचारी संगठनहरुले स्वतन्त्रलाई भन्दा दलहरुलाई मान्यता दिने देखिन्छ ।
अर्कोतर्फ सबैभन्दा पुरानो र विश्वले पत्याएको पार्टी नेपाली कांग्रेस पनि विशेष महाधिवेशनको कारणले दुई फ्याक हुन पुगेको छ । त्यसभित्र पनि नेतैपिच्छेका गुटैगुट छन् । पार्टी दुई ध्रुवमा विभाजित भएसँगै तिनका भ्रातृ तथा सुभेच्छुक संघ, संगठनहरु पनि छिन्नभिन्न भएका छन् । कांग्रेस निकट कर्मचारी युनियनभित्र पनि तीन गुट थियो । त्यसमा यज्ञ वली गगन गुटका थिए भने शेखर गुटमा उत्तम कटवाल थिए । शेरबहादुर देउवा पक्षका जनक रावलले गर्दा निजामती कर्मचारी युनियनको नवौं महाधिवेशन भाँडिन पुगेको थियो । त्यो रोगले गर्दा अहिले कांग्रेस पार्टी नै विभाजन हुन पुगेको छ । कांग्रेस निकट कर्मचारी युनियका अधिकांश नेता, कार्यकर्ताहरु धेरै मात्रामा संस्थापन पक्षमा देखिएका छन् भने शेखर र गगनको पक्षमा न्यून रहेका छन् । त्यसले गर्दा कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा ठूलो धक्का लाग्ने देखिन्छ ।

