गृहमन्त्रालयकै कारण शान्ति सुरक्षामा चुनौती

राजनीति समाचार

काठमाडौं । निर्वाचन नजिकिएसँगै देशमा शान्ति सुरक्षाको चुनौती थपिँदै गएको छ । सरकारले निर्वाचन सुरक्षाको लागि ३ लाखभन्दा बढी सुरक्षाकर्मी खटाउने तयारी गरिरहेको छ । तर, नेपाल प्रहरी भने काठमाडौं उपत्यकाभित्र नागरिक र प्रहरीबीच भाइचाराको सम्बन्ध कायम गर्ने नाममा नाचगान र सांस्कृतिक कार्यक्रम गर्ने भन्दै विभिन्न उद्योगी व्यापारीहरुसँग सहयोग उठाउने काममा रमाइरहेको छ । त्यसमा काठमाडौं प्रहरी परिसर, ललितपुर प्रहरी परिसर र उपत्यका ट्राफिक महाशाखाले सामुदायिक प्रहरीको माध्यमबाट उठ्ती धन्दा चलाइरहेका छन् ।

काठमाडौं उपत्यका मेट्रो प्रहरी प्रमुख ईश्वर कार्कीले घुमुवा प्रहरी खटाएर उठ्ती धन्दा नै चलाएको स्रोतले बताएको छ । उता, भक्तापुर प्रहरी परिसरको हालत पनि त्यस्तै छ । यतिबेला फागुन २१ को निर्वाचनका लागि विभिन्न दलका नेता र स्वतन्त्रहरु देशैभरि चुनाव प्रचार–प्रसारमा जुटिरहेका छन् । निर्वाचन प्रचार–प्रसारका क्रममा कतिपय उम्मेदवारका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएको छ । तर, निर्वाचन सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरी भने नागरिकसँग सामुदायिक कार्यक्रम चलाएर सचेतना जगाउने नाममा असुलिधन्दा चलाइरहेको छ ।

नेपाल प्रहरीले निर्वाचनलाई मध्येनजर गरेर शान्ति सुव्यवस्था कायम गर्नको लागि सुरक्षा रणनीति अपनाउनुपर्ने बेलामा नाचगान र सांस्कृतिक कार्यक्रम गरेर दिन बिताइरहेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष र धाँधलिरहित बनाउन देशैभरि शान्ति सुरक्षा मजबुद बनाउनुपर्नेमा त्यो गरेको पाइँदैन । उल्टै निर्वाचन आफ्नो पक्षमा पार्नको लागि सुरक्षा निकाय प्रभावित पार्ने प्रपञ्च रचिरहेका स्रोतले उल्लेख गरेको छ । तर, निर्वाचनमा होमिएका राजनीतिक दलहरुले यस विषयमा ध्यान दिएका छैनन् ।

जेनजी आन्दोलनका क्रममा हराएका हतियारको खोजी पनि हुन सकेको छैन । जेलबाट भागेका अधिकांश गम्भीर प्रकृतिका मुद्दा खेपिरहेका कैदीबन्दीहरु पनि सम्पर्कमा आएका छैनन् । ज्यान मुद्दादेखि विभिन्न आपराधिक गतिविधिमा दोषी ठहरिएका कैदीबन्दीहरु जेलबाट निस्किएर कहाँ र कसरी बसिरहेका छन् भन्ने विषयमा गृहमन्त्रालयले चासो देखाएको छैन । यता नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले चुनावी सुरक्षा रणनीति बनाउन सकेका छैनन् । किन कि गृहमन्त्रालय र गृहसचिवको जे आदेश आउँछ त्यही पालना गर्दै रमाइरहेका छन् । उनलाई जेनजी सरकारले प्रहरी महानिरीक्षक बनाएको हो । त्यसले गर्दा पनि गृहमन्त्रीको योजना र आदेशबिना महानिरीक्षक कार्कीले प्रहरी संगठनको काम नसकेको आरोप छ । त्यसले गर्दा आगामी निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनेमा शंका रहेको स्रोतको दावी छ ।

उता, सीमा सुरक्षाको लागि खटाइएको सशस्त्र प्रहरीले पनि आगामी निर्वाचनलाई लक्षित गरेर सीमा सुरक्षा बजबुद बनाउन सकेको छैन । नेपाल प्रहरीले पनि सशस्त्र प्रहरीसँग समन्वयकारी भूमिका निर्वाह गरी सुरक्षा प्रवन्ध मिलाउन सकेको छैन । भारत र नेपालबीच खुल्ला सीमाना भएको कारण सुरक्षा चुनौती झन् पेचिलो बनेको छ । भारतसँग सीमाना जोडिएका अधिकांश जिल्लाहरुमा घुसपैठ र चोरी तस्करी रोक्न सुरक्षा रणनीति अपनाउनुपर्नेमा त्यो गरेको पाइँदैन । यस विषयमा गृहमन्त्रालय मुकदर्शक बनेर बसिरहेको बताइन्छ ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलभित्र आन्तरिक विवाद देखिए तापनि नेकपा एमाले भने एकढिक्का भएर निर्वाचनमा होमिएको पाइन्छ । पार्टीभित्र आन्तरिक विवाद नभए तापनि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध स्वदेशी, विदेशी घेराबन्दी बढिरहेको छ । अध्यक्ष ओलीविरुद्धको घेराबन्दी तोड्न एमाले नेता, कार्यकर्ता एकजुट भएर लागिपरेको देखिन्छ ।

जेनजी आन्दोलनपछि गुमनाम जस्तै भएर दुला पसेका राजनीतिक दलहरु एमालेकै कारण मधिवेशन, भेला, सम्मेलन र चुनाव प्रचार–प्रसार गर्न गाउँगाउँ पुग्न सफल भएका छन् । त्यसले गर्दा पनि यो निर्वाचनमा एमाले बलियो खम्बाको रुपमा उभिएको छ । तर, एमाले अध्यक्ष ओलीको पालामा भएको विकास निर्माण र लिपुलेक लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा सार्वजनिक गरी भारतले मिचेको नेपाली भूमि दावी गरेको देख्न नचाहने दल र स्वतन्त्रहरु उनको विरोधमा उत्रिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *