काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदरकाहरुलाई जनताको घरदैलोमा गएको बेला सर्वसाधारणले विभिन्न प्रश्न र गुनासो तेस्याउने गरेको पाइन्छ । पुराना दलबाट पटक–पटक निर्वाचन जितेर राजधानी छिरेपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नआएको र विकास निर्माणका काम नगरेको गुनासो खोपेका छन् भने नयाँ दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुलाई राजनीतिक एजेन्डा र सिद्धान्त नभएको आरोप लगाइरहेका छन् । उता, उम्मेदवार र कार्यकर्ताहरु भने सर्वसाधारणको जनगुनासो सुन्नेभन्दा आफ्नो पार्टी र उम्मेदवारलाई भोट दिन आग्रह गरिरहेका छन् । पुरानादेखि नयाँसम्म सबै उम्मेदवारहरुले आफूलाई भोट दिन आग्रह गरिरहँदा सर्वसाधारण मतदातालाई कुन दलका उम्मेदवारको के एजेन्डा हो कसले विकास गर्छ भन्ने थाहा छैन ।
उता, राजनीतिक दलहरुले पनि पुरानो घोषणापत्र अनुसार काम गर्न नसकेको क्षमा याचना गर्दै नयाँ योजना ल्याउन सकेका छैनन् । नयाँ दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुले पनि स्पष्ट रानीतिक भिजन र विकासका योजना प्रस्तुत गर्न सकेका छैनन् । नयाँ दल र स्वतन्त्रहरुको एजेन्डा खाली ‘नयाँलाई भोट दिउँ’ भन्ने बाहेक केही छैन । त्यसले गर्दा सर्वसाधारण जनता पुराना र नयाँबीच कसलाई भोट दिने भन्ने दोधारमा परेका छन् । कतिपय मतदाताले विकास निर्माका कामको आधारमा पुरानै दलका उम्मेदवारलाई मत दिने मनस्थिति बनाएको पाइन्छ भने कतिपयले नयाँलाई मत दिने भनिरहेका छन् ।
त्यसले गर्दा यसपालिको निर्वाचन पुराना र नयाँ दुवै खाले उम्मेदवारलाई फलामको चिउरा सावित हुने भएको छ । यसअघिका निर्वाचनहरुमा एमाले, कांग्रेस र माओवादी जस्ता ठुला दलहरुले अधिकांश सिट जित्ने पक्कापक्की पहिला नै देखिन्थ्यो । तर, यसपालिका निर्वाचनमा दल अथवा स्वतन्त्रले बढी सिटमा जित हासिल गर्न सक्छ भन्ने एकिन छैन । त्यसमा नेपाली कांग्रेस नेकपा एमाले र रास्वपाले आफू सबैभन्दा धेरै सिटमा जित निकाले ठूलो भन्ने दावी गरिरहेका छन् । त्योसँगै विभिन्न १७ वटा दलहरु मिलाएर बनेको नेपाली कम्युनिस्ट पार्टीले पनि आफूले दल बन्ने दावी गरिरहेको छ । तर, पुराना, नयाँ दलसँगै स्वतन्त्रहरुको पक्षमा खासै जनउभार आएको देखिँदैन ।

