काठमाडौं । सरकारले फागुन २१ गते जसरी पनि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने भन्दै गर्दा राजनीतिक दलहरु पनि चुनावमा होमिएका छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु आ–आफ्नो चुनावी प्रचारमा न्वारनदेखि बल निकालेर लागिपरेका छन् । तर, सर्वसाधारण जनता मौन बसेका छन् भने सामाजिक सञ्जालहरु पक्ष, विपक्षमा उत्रिएर प्रचारवाजी गरिरहेका छन् । निर्वाचन आउन २२ दिन बाँकी रहँदा सर्वसाधारण जनतालाई फागुन २१ गते नै निर्वाचन हुन्छ भन्ने विश्वास सरकारले दिलाउन सकेको छैन ।
अर्कोतर्फ उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी मुलुक भारतले नेपालको निर्वाचनलाई नजिकबाट नियालीरहेका छन् । पश्चिमाको डिजाइनअनुसार नेपालमा निर्वाचन हुन लागेकोले भारत र चीन शशंकित बनेका छन् । त्यसले गर्दा छिमेकी मुलुक भारत र चीनले प्रतिनिधि सभा पुनस्र्थापान गर्दा नेपालको हित हुने संकेत गरेका छन् भने न्यायालय त्यसमा डराएको अवस्था छ । उता पश्चिमाहरुले नेपालमा जसरी भएपनि निर्वाचन गराएरै छाड्ने योजना बनाइरहेका छन् ।
त्यसले गर्दा नेपालको निर्वाचन नेपाली राजनीतिक दल र सरकारले गराउनेभन्दा पनि पश्चिहरुको इच्छाअनुसार हुन लागेको आशंका गरिएको छ । यदि उनीहरुको योजनाअनुसार नभएको खण्डमा यो निर्वाचन भाँडिने खतरा त्यत्तिकै छ । त्यसले गर्दा राजनीतिक दलहरु पनि यो निर्वाचन फागुन २१ गते नै हुन्छ भन्नेमा ढुक्क छैनन् । नेपालको राजनीतिमा जति बेला जे पनि हुन सक्ने आँकलन विश्लेषकहरुले गर्न थालेका छन् । जेनजी आन्दोलनपछि नेपालका उद्योग धन्दादेखि व्यापार व्यवसाय धरापमा पर्दै गएको अवस्था छ भने आर्थिक स्थिति पनि नाजुक बन्दै गएको छ । त्यसले गर्दा आमसर्वसाधारण नेपालीहरु विदेशीको इसारामा भएको गत भदौ २३ र २४ गतेको घटनाले त्रसित भएका छन् । यो निर्वाचन पनि विदेशीको इसारामा हुने भएकाले सर्वसाधारण जनताहरु खुलेर मतदान गर्न जाने अवस्था देखिँदैन ।
पश्चिमाहरुले नेपालमा आफ्नो डेरा जमाउनको लागि विभिन्न हथखण्डाहरु मच्चाएर कुनै न कुनै पार्टीका व्यक्तिहरुलाई प्रयोग गर्दै आएका थिए । तर, दलका नेताहरु उनीहरुको योजनाअनुसार सहमत नभएपछि स्वतन्त्रको नाममा रास्वपाका सभापति रवि लामिछानेलाई प्रयोग गरेका छन् भने बारबरा फाउण्डेशनले बालेन शाहलाई प्रयोग गरेर देश विखण्डनतिर धकेल्ने काम हुन थालेको छ । त्यसले गर्दा पनि आमनेपाली जनताहरु संयम भएर राष्ट्र र राष्ट्रियताको लागि अगाडि बढ्नुपर्ने भएको छ ।

