काठमाडौं । नेपाल प्रहरीभित्र विगत लामो समयदेखि विकृति र विसंगति बढेसँगै राजनीतिक दलहरुको भर्तीकेन्द्र बन्ने गरेको थियो । प्रहरीहरुले पनि तीनै दलका नेताहरुलाई प्रयोग गरेर सरुवा, बढुवादेखि कमाउ धन्दा चलाउने गरेका थिए । प्रहरीभित्रको उठ्ती धन्दाकै कारण संगठन नै बद्नाम हुँदै आएको थियो । प्रहरीभित्र विकृति विसंगति बढेपछि टोले गुण्डाहरुको राज चल्ने गरेको थियो । प्रहरी र गुण्डाहरुबीच देखावटी द्वन्द्व भए पनि भित्रभित्रै उठ्ती धन्दा तीनै गुण्डामार्फत प्रहरीहरुले गर्ने गरेका थिए । पछिल्लो समय गुण्डासँगको मिलेमतोको स्वरुप परिवर्तन गरेर सामुदायिक प्रहरीको नाममा सर्वसाधारणबाट असुली धन्दा चलाउने गरिएको खुलासा भएको छ । खासगरी प्रहरीहरुले सर्वसाधारण जनतामा ‘प्रहरी हाम्रो साथी’ भन्ने नारा दिएर टोले नाइकेमार्फत उद्योगी, व्यापारीहरुबाट सहयोगको नाममा उठ्ती चलाउने गरेका छन् ।
जेनजी आन्दोलनपछि सामुदायिक प्रहरीको नाममा उठ्ती धन्दा चलाउनेको भागाभाग भएको थियो । प्रहरी निस्क्रिय भएसँगै गुण्डागर्दी र लुटपाटको घटना बढ्न थालेपछि स्थानीयवासीले नै प्रहरीलाई सहयोग गरेर कार्यालय स्थापन गर्नेदेखि मर्मत संभारसम्मको काम सम्पन्न गरेर व्यवस्था मिलाएका थिए । स्थानीयवासीको आडमा डेरा जमाउन सफल भएका प्रहरीहरुले नै अहिले तीनै स्थानीय उद्योगी, व्यापारीहरुसँग असुली धन्दा चलाउन थालेका छन् । देश निर्वाचनमा होमिएसँगै सुरक्षा चुनौती थपिएको छ । जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दीहरुले देशैभर लुटपाट र हत्या, हिंसा मच्चाइरहेका छन् । तर, नेपाल प्रहरीले यस्ता विषयमा कुनै ध्यान दिएको छैन । जेलबाट भागेका कैदीबन्दीहरु कुन प्रकृतिका अपराधी थिए र कुन ठाउँका थिए भन्ने बारे प्रहरीले चासो देखाएको पाइँदैन । जेलबाट भागेका कैदीबन्दीहरु कुनै ठाउँमा घटना घटाएको उजुरी परेको खण्डमा मात्रै प्रहरीले खोजतलास गर्ने गरेको पाइन्छ । भागेका कैदीबन्दीहरुले सुरक्षाकर्मीबाट लुटेको हतियारको खोजी पनि प्रहरीले गर्न सकेको छैन ।
खोजी गरुन् पनि कसरी प्रहरीका हतियार लुटपाट गर्ने जेनजीहरु नै थिए र अहिलेका आईजीपी दानबहादुर कार्की पनि जेनजी सरकारले नियुक्ति गरेका व्यक्ति हुन् । त्यसले गर्दा आईजीपी कार्कीले प्रहरीबाट खोसीएका हतियार खोजी गर्नु भनेको जेनजी सरकारलाई असहयोग गर्नु हो । त्यसले गर्दा विभिन्न अपराधमा जेल जीवन बिताइरहेका कैदीबन्दीले शहरदेखि गाउँका दूरदराजसम्म चोरी, डकैती, हत्या, हिंसा मच्चाइरहँदा आईजीपी कार्की रमिते बनेर बसेका छन् । उता, निर्वाचन नजिकिँदै गर्दा प्रहरीबाट शान्ति सुरक्षाको अनुभूति हुन नसकेपछि नेपाली सेनालाई अगाडि सारिएको छ । यसपालिको निर्वाचनमा नेपाल प्रहरी नेपाली सेनाको पछिपछि लाग्ने र सेनाको नियम अनुसार चल्नुपर्ने भएको छ । पहिलाका निर्वाचनहरुमा नेपाल प्रहरीको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाली सेनाले सहयोग गर्ने गरेका थिए ।
तर, जेनजी सरकारले यसपटकको निर्वाचन आउनु एक महिना अगाडिदेखि नै सेना परिचालन गरेर नेपाल प्रहरीलाई निरिह जस्तै बनाएको छ । तत्कालीन सरकारहरुले निर्वाचन गराउँदा नेपाल प्रहरीको सुरक्षा कमाण्डमा नेपाली सेना र सशस्त्र प्रहरीलाई सुरक्षा सम्वेदनशील क्षेत्रको बुथ सुरक्षाको लागि ५०० मिटर वरपर रहने गरी सुरक्षा व्यवस्था मिलाउने गरेको थियो । तर, यसपालिको जेनजी सरकारले उम्मेदवारहरुले मत माग्नको लागि करदैलो र आमसभा कार्यक्रम नगर्दै सेना परिचालन गरेर रमिता देखाएको छ ।

