भक्तपुर । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो र विभिन्न भेला आयोजना गरेर प्रचार–प्रसारलाई तिब्रता दिएका छन् । प्रचार–प्रसारमा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने कार्यकर्ताहरुको लर्को पनि त्यत्तिकै छ । पार्टी प्रवेश गर्ने कार्यकर्तालाई नेताहरुले खादा माला लगाएर आफ्नो पार्टीमा स्वागत गर्दै आएका छन् । खासगरी पार्टी प्रवेश गर्नेमा धेरैजसो रास्वपाका नेता कार्यकर्ता रहेका छन् भने अन्यमा नेपाली कम्युनिस्ट पार्टी र विभिन्न स्वतन्त्रमा लागेकाहरु नेकपा एमाले र नेपाली कांग्रेसमा प्रवेश गर्ने होडवाजी चल्न थालेको छ । अर्को पार्टी अथवा स्वतन्त्रबाट एमाले र कांग्रेसमा आएकाहरुले कति इमानदारिपूर्वक काम गर्छन् त्यो चुनावी परिणामले देखाउने छ ।
जति चुनाव नजिकिँदै छ, त्यति नै अन्य पार्टी वा स्वतन्त्रबाट एमाले र कांग्रेसमा प्रवेश गर्नेको लहर देशैभर देखिएको छ । तर, त्यसरी प्रवेश गर्नेमा पहिला सोही पार्टीमा रहेका र बीचमा असन्तुष्ट भएर अन्यत्र लागेका कार्यकर्ताहरु पुरानो घर फर्किएका छन् भने कतिपय नयाँहरु पनि प्रवेश गरेका छन् ।
त्यसको गतिलो उदाहरण लिन सकिन्छ भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ लाई । गत शनिवार भक्तपुर क्षेत्र नम्बर २ अन्तर्गत नेकपा एमाले वडा नम्बर ४ ले आयोजना गरेको ‘ अन्तत्र्रिmया तथा वृहत कार्यकर्ता भेला’ कार्यक्रममा प्रमुख अतिथि सोही क्षेत्रका एमालेका प्रत्यक्ष उम्मेदवार महेश रहेका थिए । सो कार्यक्रममा रास्वपाबाट ३५ जना र जेनजीबाट २५ जना युवायुवतीहरु नेकपा एमाले प्रवेश गरेका थिए । रास्वपाबाट एमाले प्रवेश गर्ने नेताहरुले ‘एमाले र कांग्रेसले देशमा विकास नगरेको, भ्रष्टाचारीलाई संरक्षण गरेको र देशमा सुशासन दिन नसकेको भनेर रास्वापमा लागेका थियौं ।
तर, त्यो रास्वपा त कांग्रेस र एमालेभन्दा गएगुज्रिएको र विदेशी एजेन्ट रहेछ, पैसा उठाएर समानुपातिक उम्मेदवार बनाउँदो रहेछ । प्रत्यक्ष उम्मेदवार बनाउन पनि पहिल्यै पैसा लिने रहेछ । सहकारीको पैसा हिनामिना गरेको उजुरी परेका नेताहरु रहेछन् त्यसकारण हामी देश प्रेमी नेता खोजेर एमाले पार्टी प्रवेश गरेका हौं भन्ने अभिव्यक्ति दिइरहेका थिए । त्यसैगरी कार्यक्रममा जेनजी भाइबहिनीहरुले देश जलाउनेलाई होइन देश बनाउनेलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई भक्तपुर २ का एमाले केन्द्रीय सदस्य तथा उम्मेदवार महेश बस्नेतले खादा र अविर लगाएर स्वागत गरेका थिए ।

