काठमाडौं । जति निर्वाचन नजिकिँदै गएको छ, त्यति नै उम्मेदवारहरुको नौटंकी प्रदर्शन हुन थालेको छ । निर्वाचनमा होमिएका अधिकांश उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाता सामु गएर विभिन्न नाटकहरु मञ्चन गरिरहेका छन् । बालबालिकाहरुसँग बस्ने, डोको बुन्न लाग्ने, घर बनाउने मजदूरसँग भलाकुसारी गर्ने, हलो जोतिरहेका किसानसँग गएर हलो जोत्ने, उखुबारीमा गएर काम गर्ने, घाँसको भारी बोक्ने, गाई–भैसीको गोठमा गएर दूध दुहुने, मोही पार्ने, तिर हाल्ने, घोडा लिएर गाउँ–गाउँ चुनाव चिन्ह देखाउँदै दौडिने, बिहेका जन्तिसँग मिसिएर हिड्ने, सर्वसाधारणको भान्छामा गएर सरकारी चाख्ने, फलफूल पसलमा केराको मूल्य सोध्ने, ‘म पनि उठेको छु, भोट दिनुमन लागे दिनुहोस्, मन नलागे नदिनुहोस्’ भन्दै डाँडाँ कराउँदै हिड्ने, कुखुराको भालेसँग भोट माग्ने, सर्वसाधारणको जुत्तासहितको खुट्टा ढोग्ने, तरकारी गोड्ने, जेरीपुरी पकाउनेलगायतका हर्कत गरिरहेका छन् । उम्मेदवारहरुको यस्तो क्रियाकलाप हेर्दा यसपटकको निर्वाचनमा प्रचारशैली फरक देखिएको छ ।
राजनीतिक दलका नेताहरुले त पहिलादेखि नै चुनावी नाटक गर्दै आएकै थिए । तर, यसपालि त विभिन्न पेशा, व्यवसायमा आबद्ध व्यक्तिहरु उम्मेदवार बनेका कारण झन् नाटक गर्नेको शृंखला बढेको छ । पहिला निर्वाचन जितेपछि गाउँ फर्केर नगएका उम्मेदवारहरु अहिले भोट आफ्नो पक्षमा पार्नको लागि सर्वसाधारणको घरदैलोमा पुगेर उनीहरुले गरिरहेको काम खोसेर आफूले गर्दै नाटक मञ्चन गरिहेका छन् । कोही भने हारिने डरले आफ्नो निर्वाचन क्षेत्र छोडेर सुरक्षा ठाउँमा गएर मतदाताबीच विभिन्न नाटक गरिरहेका छन् । कतिपय उम्मेदवारहरुले त घरदैलो कार्यक्रमका क्रममा गाउँ टोलमा धेरै विकास भएको रहेछ, हामीले पो थाहा पाएका रहेन छौं भनेर आश्चर्य प्रकट गरिरहेका देखिन्थे ।
त्यसले गर्दा उनीहरु निर्वाचन जितिसकेपछि आफ्नो गृहजिल्ला नगएको पुष्टि हुन्छ । पेशा व्यवसाय छाडेर निर्वाचनमा होमिएका तर राजनीतिक एजेन्डा नभएका उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न विभिन्न नाटक मन्चन गरिरहेका छन् भने केही नयाँ पार्टीका उम्मेदवारहरु ‘चुपचाप, फलानो चिन्हमा छाप’ भन्दै देशदौडाह गरिरहेका छन् । नयाँहरु राजनीतिक एजेन्डा र भिजन नभएपछि चुनाव चिन्हको प्रचार गर्दै चुपचाप दौडिने गरेका छन् । तर, पुराना दलहरुको राजनीतिक सिद्धान्त, निष्ठा र स्पष्ट भिजन भए तापनि विगतका बाचाहरु पुरा गर्न नसकेका कारण चुनावी प्रचारशैली फेरिरहेका छन् ।

