भोलि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन आयोगले पनि सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ । निर्वाचन भयरहित ढंगले सम्पन्न गर्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरीहरु मतदान केन्द्रमा परिचालित भइसकेका छन् । मतदान केन्द्र सुरक्षाको लागि तार, बार लगाउने र मतदाता लाइन बस्ने व्यवस्थापन पनि गरिसकिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुले सर्वदलीय बैठक गरेर आ–आफ्ना दल र स्वतन्त्रहरुले बुथ एजेन्टहरु तोकिसकेका छन् । यसपटकको निर्वाचनमा राजनीतिक दलदेखि विभिन्न पेशा व्यवसाय गर्नेहरु उम्मेदवार बनेका छन् । राजनीतिक दल र पेशा व्यवासयबाट आएकाहरु उम्मेदवार भएकाले भोलिको निर्वाचनमा कुन दल ठूलो बन्छ भन्न सकिन छैन । मतदाताहरु पनि यहीं पार्टी र यही समूह भनेर खुलेर लागेको देखिँदैन । त्यसले गर्दा दलका कार्यकर्ता बाहेक स्वतन्त्र सर्वसाधारणको भोट कता जान्छ भन्ने आँकलन पनि गर्न सकिएको छैन ।
त्योसँगै निर्वाचन आयोग, कर्मचारी र सुरक्षा निकायले कस्तो भूमिका खेल्छन् त्यसमा निर्भर रहन्छ । बेमौसमी चुनाव भएकाले धेरै मतदाता गाउँ फर्किने अवस्था देखिँदैन । कतिपय युवायुवतीहरुले त मतदाता नामावली दर्ता गराको पनि पाइँदैन । मतदाता नामावली दर्ता गराएका अधिकांश युवायुवती विदेशिएका छन् भने कतिपय नेपालमै अध्ययन र पेशा व्यवसायमा लागेकाहरु मतदान गर्न उत्सुक देखिँदैनन् । त्यसले गर्दा यसपालिकाको निर्वाचनमा कम मत खस्ने आँकलन गरिएको छ । एकातिर २०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मै हुनु, अर्कोतिर नयाँ पुस्ताले राजनीतिमा चासो देखाउनुले पनि कुन दल ठूलो बन्न भन्ने एकिन छैन । पहिलाको तुलनामा यसपटक युवापुस्ताले पुराना र नयाँको नाममा बढी चासो देखाएको देखिन्छ । मतदाताहरु दोधारमा परेको पाइन्छ । अझ कतिपय सामाजिक सञ्जालहरुमा मत सर्वेक्षण गर्ने नाममा झुठा प्रचार गरेर सर्वसाधारण जनतामा भ्रम छर्ने काम भइरहेका छन् ।
पहिलाको तुलनामा यसपालि सुरक्षा चुनौतीको नाममा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको कारण मतदाताहरु भयरहित ढंगले मतदानमा सहभागी नहुने आँकलन गरिएको छ । उम्मेदवारहरुले प्रचार–प्रसारको शैली पनि फरक पारेका छन् । राजनीतिक दलका घोषणा–पत्रमा परिमार्जित गरेको पाइन्छ । धेरैजसो दलहरुको घोषणा–पत्रमा स्वरोजगार र उद्यमशीलता र आर्थिक उपार्जनलाई प्राथमिकता दिएको पाइन्छ । पहिलाका निर्वाचनमा ठूला–ठूला विकास निर्माणका विषयलाई प्राथमिकतामा राखेर लामो र महत्वकांशी घोषणा–पत्र जारी गरिन्थ्यो भने यसपटक दलहरुले जारी गरेका घोषणापत्रहरुमा सेवामुखी डेलिभरि र सुशासनलाई प्राथमिकता दिएका छन् । नेपालमा हुँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई विश्वले चासोका साथ नियालीरहेको छ । त्यसकारण यो निर्वाचन भएरहीत ढंगले सम्पन्न गर्न सरकारलाई चुनौती छ ।

