रामचन्द्र बस्नेत
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार चिनेर भन्दा पनि चुनाव चिन्हमा आकर्षित भएर जनताले अन्धाधुन्ध मतदान गर्दा अधिकांश इमानदार विकास प्रेमी नेताहरु नराम्रोसँग पराजित भएका छन् । यसपटकको निर्वाचनमा व्यक्तिले गरेको कामको मूल्याङ्कन गर्ने भन्दा पनि हल्लाको भरमा सर्वसाधारणले मतदान गर्दा अधिकांश राम्रा उम्मेदवारहरुले हार ब्यहोर्नुपरेको छ । त्यसले गर्दा ‘हाम्रालाई होइन, राम्रालाई छान्ने’ हल्ला गर्ने नयाँ पुस्ताले उम्मेदवार नै नचिनी जथाभावी मतदान गर्दा देश झन् संकटतिर धकेलिने संकेत देखिएको छ ।
यदि सर्वसाधारणले राम्रालाई छानेका थिए भने कुलमान घिसिङ, रेणु दाहाल, डा. सुनिल शर्मा, चन्द्र भण्डारी, प्रदीप ज्ञवाली डा. शेखर कोइराला, प्रदीप पौडेलजस्ता निर्विवादित र स्वच्छ छविका नेताहरुले हार बेहोर्नुपर्ने थिएन । अन्यको तुलनामा यी नेताहरुमा पटक–पटक लाभको पदमा पुग्दा कुनै दाग लागेका थिएन । दाग नलागेका यस्ता नेताहरुलाई मत नदिनु भनेको दलप्रति रुष्ट हुनु हो । तर, मतदाताहरुले परिवर्तनको नाममा राम्रोलाई छानेको हो भने यी नेताहरुले हार्नुपर्ने कुनै कारण थिएन । त्यस कारणले पनि मतदाताहरुले उम्मेदवार नचिनी चुनाव चिन्हमा अन्धाधुन्ध मत खन्याएको पुष्टी हुन्छ । तर जथाभावी मत खन्याएर नजित्ने व्यक्तिहरुलाई जिताइएको छ भने भ्रष्टाचारमा दाग नलागेका, विदेशीसँग कुटनीतिक सम्बन्ध भएका, पटक पटक निर्वाचित भएर जिम्मेवारीमा राम्रो भूमिका निर्वाह गरेका व्यक्तिहरु पराजित गरिएको छ ।
त्यसले गर्दा पनि आगामी विकासका ढोकाहरु कसरी खुल्छन् त्यो यकिन भएको छैन । जबकी सहकारी ठगी काण्डमा मुछिएका, दोहोरो नागरिकता भएका, अमेरिकन पासपोर्ट नत्यागेका व्यक्तिहरुलाई मतदाताहरुले निर्वाचन गराएर पठाएका छन् भने विकास प्रेमी नेताहरु पराजित हुन पुगेका छन् । त्यसले गर्र्दा रास्वपामा बदनाम भएका नेताहरुको बहुल्यता बढेको छ । यतिबेला पुराना दलहरुले नराम्रोसँग हार खाएका छन् । राजनीतिक दलहरुमा एकआपसमा समन्वय भूमिका नहुने र एकले अर्काेलाई दोसारोपण गरिरहने कामले गर्दा मतदाताहरु दलहरुप्रति अशन्तुष्ट बन्दै गएका थिए । त्यसैको परिणाम स्वरुप आज पुराना दलहरुले नराम्रोसँग हार बेहोर्नुपरेको छ ।

