डाक्टरको सल्लाहबिना औषधि खानु किन हानिकारक ?

राजनीति समाचार

काठमाडौं । अधिकांश सर्वसाधारण बिरामीहरु अस्पताल गएर डाक्टरलाई जचाउँनेभन्दा पनि मेडिकलमा गएर मलाई यस्तो भएको छ के खाँदा ठिक हुन्छ ? भनेर बिनाँ जाँचबुझ औषधि किनेर खाने गर्दछन् । डाक्टरको चेकजाँचबिना मेडिकलबाट औषधि किनेर खाँदा बिरामीलाई रोग निको हुनुकोसट्टा उल्टै अर्को रोग थपिने समस्या बढि देखिन्छ । यसले गर्दा विरामीहरु थप अर्काे समस्यामा पर्ने गर्दछन् । डाक्टरको सल्लाहबिना मेडिकलबाट औषधि किनेर खाने प्रवृत्ति अहिले धेरै ठाउँमा बढ्दो छ । यसले तत्काल राहत दिएको जस्तो देखिए तापनि दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।

डाक्टरको परामर्शबिना औषधि खाँदा व्यक्तिले आफ्नो रोग आफैं अनुमान गरेर औषधि सेवन गर्ने गरेको पाइन्छ । मानिसमा देखिने धेरै रोगका लक्षणहरू मिल्दोजुल्दो हुन्छन् । उदाहरणका लागि टाउको दुखाइ माइग्रेन अथवा सामान्य तनावका कारण पनि हुन सक्छ । टाउको दुखाइलाई गलत रोगको अनुमान गर्दा गलत औषधि सेवन हुन्छ, जसले रोग झन् जटिल बनाउँछ ।

मानिसले अन्दाजको भरमा डाक्टरको सल्लाहबिना खाइने हरेक औषधिको केही न केही साइड इफेक्ट हुन्छ । डाक्टरले बिरामीको उमेर, स्वास्थ्य अवस्था, र अन्य औषधि प्रयोगको आधारमा मात्र औषधि सिफारिस गर्छन् । बिना सल्लाह औषधि खाँदा एलर्जी, वाकवाकी, चक्कर, छालामा असरजस्ता समस्या देखिन सक्छन् । गम्भीर अवस्थामा जीवन नै जोखिममा पर्न सक्छ ।

डाक्टरको सल्लाहबिना औषधि प्रयोग गर्नु अत्यन्त खतरनाक हुन्छ । यसको गलत प्रयोगले विभिन्न समस्या निम्त्याउँछ । त्यसले भविष्यमा सामान्य संक्रमण पनि उपचार गर्न गाह्रो बनाउँछ । कहिलेकाहीँ औषधिले रोगको लक्षण मात्र कम गर्छ, तर वास्तविक समस्या समाधान हुँदैन । यसले रोगलाई लुकाउँछ र पछि अझ गम्भीर अवस्थामा देखा पर्न सक्छ । उदाहरणका लागि लगातार पेनकिलर खाँदा पेटमा समस्या हुन सक्छ ।

डाक्टरले बिरामीको अवस्था अनुसार औषधिको मात्रा निर्धारण गर्छन् । आफैं औषधि खाँदा कम वा बढी मात्रा सेवन हुन सक्छ, जसले औषधि प्रभावहीन वा हानिकारक बन्न सक्छ। बढी मात्रा लिँदा विषाक्त असर हुन सक्छ । यदि कुनै व्यक्ति पहिले नै अन्य औषधि खाइरहेको छ भने नयाँ औषधिसँग प्रतिक्रिया हुन सक्छ । यसले औषधिको असर घटाउने वा शरीरमा हानिकारक प्रभाव पार्ने सम्भावना हुन्छ । गलत औषधि सेवनका कारण रोग जटिल बनेपछि उपचार खर्च बढ्छ ।

साथै, लामो समय बिरामी हुँदा परिवार र समाजमा पनि नकारात्मक असर पर्छ । डाक्टरको सल्लाहबिना औषधि सेवन गर्नु सानो गल्ती जस्तो लागे पनि यसले स्वास्थ्यमा दीर्घकालीन समस्या निम्त्याउन सक्छ । त्यसैले कुनै पनि औषधि सेवन गर्नु अघि योग्य स्वास्थ्यकर्मी वा डाक्टरसँग परामर्श लिनु अत्यावश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *