काठमाडौं । नेपाली सेनाभित्र परापूर्वकालदेखि सरकारभन्दा आफूलाई ठूलो ठान्ने कारणाकाली हैकमवाद कायमै छ । चाहे त्यो राणाकाली समय होस् अथवा पञ्चायतकालीनहुँदै लोकतान्त्रिक गाणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा पनि नेपाली सेनाभित्रको हैकमवाद कायमै छ । सरकारलाई नपत्याउने हैकमवादसँगै सेनाभित्र पहिलादेखि विकृति, विसंगति र भ्रष्टाचारले जरा गाड्दै आएको छ ।
सेनाभित्रको भ्रष्टाचारका शृंखलाहरु शान्ति सेनामा विदेश पठाउनेदेखि हतियार खरिद, लत्ताकपडा खरिद, रासन खरिदहुँदै देशका विभिन्न भागमा गण, गुल्म खडा गर्नको लागि भौतिक संरचार निर्माण र जग्गा खरिदमिा समेत ठूलो मात्रामा भ्रष्टाचार हुने गरेका समाचार सञ्चारमाध्यममा नआएका होइनन् । सञ्चार माध्यममा सेनाभित्रको भ्रष्टाचारको समाचार सार्वजनिक भएपछि संगठनको समाचार कसरी बाहिरियो भनेर सेनाभित्र छानविन समिति बनाइ कोर्ट मासल लगाएर कारबाही गरिन्छ । सेनाभित्र दोषी ठहरिएका कर्मचारीहरुलाई आफ्नो जंङ्गी अड्डामार्फत कारबाही गर्ने चलन छ । आफ्नै जङ्गी अड्डाबाट छानविन हुने हुँदा सेनाभित्रको विकृति, विसंगति र भ्रष्टाचारका समाचार बाहिर आए तापनि महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउने सक्दैन भने अख्तियारले कारबाहीको दायरामा पनि ल्याउन सक्दैन ।
अर्कोतिर सेनाको काम भनेको राष्ट्रिय सम्पत्ति र देशको सुरक्षा गर्ने हो । तर, नेपाली सेनाले पछिल्लो समय सडक निर्माणदेखि व्यापार व्यवसाय सञ्चालन र ठेक्कापट्टाको काम गर्दै आएको छ । अन्य सडक निर्माण र राष्ट्रिय गौरवका ठेक्कापट्टामा खेलेर आफ्ना नातागोता र आफन्त ठेक्का पार्ने काम पनि गरेको पाइन्छ । त्योसँगै सेनाभित्र उच्च ओहदाका व्यक्तिले उमेर घटाएर नागरिक लिने र नक्कली सटिफिकेट बनाएर बढुवा हुने परिपाटी पनि चल्दै आएको छ ।
अझ पछिल्लो समय त राष्ट्र प्रमुख एवं राष्ट्रिय धरोहरमाथि तोडफोड र आगजनीहुँदा समेत नेपाली सेना मुकदर्शक बन्दै गएको भन्दै सर्वसाधारणले गुनासो पोख्न थालेका छन् । त्यसको गतिलो उदाहरण लिन सकिन्छ २०५८ सालको दरबार हत्या काण्ड र गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटनालाई ।
भदौ २३ गतेको जेनजी प्रदर्शनको झडपमा १९ जना आन्दोलनकारीको मृत्युको विषयलाई लिएर भोलिपल्ट २४ गतेको कफू तोडेर संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रिपति भवन सितल निवासमा आगजनी र तोडफोड हुँदा सेनाको भूमिका सून्य रहेको भन्दै सर्वसाधारणले आक्रोश पोखेका थिए । सर्वसाधारणले सेनाको भूमिकाप्रति असन्तुष्टि जनाएको एक महिनापछि नेपाली सेनाले ठूलो धनजनको क्षति हुनबाट जोगाएको अभिव्यक्ति पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।
गत फागुन २१ गते सेना परिचालन गरेर गरिएको निर्वाचनबाट आज दुईतिहाई हाराहारी बहुमतमा बालेन नेतृत्वको सरकार बनेको छ ।
बालेन सरकारले नेपाली सेनाभित्र हुँदै आएको विकृति, विसंगति र भ्रष्टाचारको छानविन गर्न सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ । दुईतिहाई बहुमतको प्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी आफैले लिएका बालेन्द्र शाह (बालेन)ले सेनाभित्रको विकृति, विसंगतिलाई बाहिर ल्याउँछन् ल्याउँदैनन सर्वत्र चर्चाको विषय बनेको छ । विगत कालका रक्षामन्त्रीहरुले पदमा बस्ने र सेनाको सलाम खानेबाहेक अन्य सुधारका काम गर्न सकेका थिएनन् । अब बालेन प्रधानमन्त्रीसहित रक्षामन्त्री बनेका छन् ।
भ्रष्टाचारीलाई खोजीखोजी कारबाही गर्ने प्रधानमन्त्रीको मिसन छ । त्यो मिसनअनुसार आफ्नो मातहतमा रहेको नेपाली सेनाभित्रको विकृति, विसंगति र भ्रष्टाचारको खोजी गरी दोषी ठहरिएको खण्डमा कारबाही गर्न सक्छ कि सक्दैनन् त्यो हेर्न नेपाली जनता आतुर छन् ।

