प्रधानमन्त्रीको कार्यशैलीले रास्वपाभित्र खिचडी पाक्दै
काठमाडौं । रास्वपा नेतृत्व सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री कार्यालयमा सर्वसाधारणदेखि व्यापारी, उद्योगी, पत्रकार र कर्मचारीलाई समेत बिनाकाम प्रवेश गर्न निषेद गरेका छन् । प्रधानमन्त्री कार्यालयमा प्रवेश निषेध गरिएपछि प्रधानमन्त्री कार्यालयको क्यान्टिन पनि सुनसानजस्तै भएको छ । सर्वसाधारण, पत्रकार, कर्मचारी र व्यापारी मात्रै होइन राजनीतिक दलका नेतादेखि कुटनीति नियोगका प्रतिनिधिहरुलाई समेत प्रधानमन्त्री शाहले भेट नदिएको उच्च स्रोतले बताएको छ । प्रधानमन्त्रीले पत्रकारहरुप्रति गरेको व्यवहारले पनि त्यस्तै देखाएको छ । अझ पत्रकारहरुलाई त प्रधानमन्त्री शाहले आफ्नो फोटो नखिच्न र खिचेको भएपनि हटाउन दबाब दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकोे देखिन्थ्यो । यी र यस्तै क्रियाकलापका कारण प्रधानमन्त्री शाह सर्वसाधारणबीच आलोचनाको पात्र बन्न थालेका छन् ।
शाह प्रधानमन्त्री बनेको डेढमहिनाभित्र तीनपटक त अमेरिकी प्रतिनिधिहरु नै नेपाल भ्रमणमा आइसकेका छन् । ती अमेरिकी प्रतिनिधिहरुलाई पनि प्रधानमन्त्रीले शाहले भेट नदिएको स्रोतले बताएको छ । त्यसैगरी उत्तरी छिमेकी मुलुक चीनका प्रतिनिधिहरुले भेट्ने चासो देखाए तापनि प्रधानमन्त्री शाहले भेट्ने इच्छा नदेखाएको बताइन्छ । विदेशी कुटनीतिक नियोगले भेट्न खोज्दा पनि प्रधानमन्त्री शाहले चासो नदेखाएपछि रास्वपा सभापति रवि लामिछानेलाई घरमै पुगेर अमेरिक प्रतिनिधिले भेटका थिए ।
भारतीय विदेश सचिव विक्रम मिश्र वैशाख ३०–३१ मा नेपाल भ्रमणमा आउने भनिए तापनि आउने नआउने एकिन छैन । यदि आइहालेको खण्डमा पनि उनलाई प्रधानमन्त्री शाहले भेट दिने नदिने कुनै निश्चित छैन । यसरी विदेशी कुटनीतिक नियोगहरुलाई प्रधानमन्त्रीले भेट नदिनु भनेको विदेशी सम्बन्ध बिगार्नुहो । अमेरिकी प्रतिनिधिलाई प्रधानमन्त्रीले भेट नदिएपछि रवि लामिछानेले भेट दिए तापनि पार्टीभित्र त्यस विषयमा कुनै छलफल भएको पाइँदैन । किन कि रास्वपाभित्र सभापति रवि एतिबेला एक्लो वृहस्पति जस्तै बनेका छन् ।
पार्टी सभापतिको सल्लाह, सुझावबिना प्रधानमन्त्रीले एकलौटी ढंगले काम गरिरहेका छन् । रास्वपाभित्र ११६ जना सांसद त रविकै पक्षमा देखिन्छन् । बहुमत सांसद आफ्नो पक्षमा भए तापनि सरकारमा सभापति रविको केही नचल्ने देखिन्छ । किन कि प्रधानमन्त्रीले सुकुम्वासी वस्ती भत्काउँदा पनि पार्टी सभापति लामिछानेसँग सल्लाह नभएको समाचार बाहिरिएका थिए । यी र यस्तै कारणले गर्दा रास्वपाभित्र खिचडी पाक्दै गएको बताइन्छ । त्यसले गर्दा बालेन सरकारको आयु पाँच वर्षसम्म नटिक्ने अनुमान सर्वसाधारणले गर्न थालेका छन् ।

