कता हरायो नेपाल पत्रकार महासंघ ?

राजनीति समाचार

काठमाडौं । सरकारले निजी मिडियाहरुलाई सरकारी सुचनामूलक र व्यवसायिक विज्ञापनबाट बञ्चित गराएर अधिकांश श्रमजीवी पत्रकारहरु बेरोजगार भइरहेका छन् । त्योसँगै स्वरोजगारमूलक पत्रपत्रिकाले पाउँदै आएको सन्देशमूलक सूचना पनि राष्ट्रिय दैनिकमा छापिने टेण्डरका विज्ञापनको विवाद देखाए बन्द गर्न खोजिँदै छ । त्यस विषयमा सर्वोच्चमा परेको रिटको सुनुवाइ पनि भएको छैन । महासंघलगायत पत्रकारसँग सरोकार राख्ने सबैं संघ, संस्थाहरुले एउटै मुद्दा बनाएर पहल गर्नुपर्नेमा त्यो पनि महासंघले गर्न सकेको छैन । स्वरोजगारमूलक पत्रपत्रिका र श्रमजीवी पत्रकारको हकहितमा आवाज उठाउने छाता संस्था नेपाल पत्रकार महासंघका नेताहरु भने विदेश भ्रमणमा रमाइरहेका छन् । पत्रकारका अन्य संघ, संगठनका नेताहरु पनि पत्रकारहरुका मुद्दा ओझेलमा परेसँगै पेशाबाट बञ्चित भइरहँदा देश, विदेश घुम्ने र व्यक्तिगत फाइदा उठाउने काममा व्यस्त छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष र पदाधिकारीहरु युरोपका विभिन्न मुलुकमा घुमिरहेका छन् भने प्रदेश र जिल्ला शाखाका पदाधिकारीहरु कार्यसमितिको मिटिङ बस्ने नाममा जिल्ला भ्रमणमा रमाउने गरेका छन् । त्यसै मेसोमा पत्रकार महासंघ काठमाडौं शाखाको कार्यसमिति बैठक बस्न सिन्धुपाल्चोकतिर पुगेको थियो । पत्रपत्रिका र श्रमजीवी पत्रकारहरुको हकहितको लागि कार्यक्रम तय गर्नुपर्नेमा कार्यसमिति बैठक बस्ने नाममा सिन्धुपाल्चोकका डाँडाकाँडा घुमेर सेल्फी खिच्ने, स्थानीय तहका जनप्रतिनिधिसँग भलाकुसारी गर्ने र पिङ खेल्न व्यस्त देखिन्थे ।

महासंघ केन्द्रदेखि प्रदेशहुँदा जिल्ला शाखाका पदाधिकारी र कार्यसमितिका प्रनिधिहरु स्वदेश तथा विदेश भ्रमणमा रमाइरहेका छन् । उता, भृकुमण्डपस्थित महासंघ काठमाडौं शाखा कार्यालयको भाडा वर्षौंदेखि नर्तिदा शाखाअन्तर्गतका साधारण सदस्यको बद्नाम भइरहेको छ । कार्यसमितिका पदाधिकारी भने वनभोज, भ्रमण र व्यक्तिगत चिनजानको लागि जिल्ला दौड गरिरहेका छन् । यदि कार्यसमितिको मिटिङ बस्न अर्को जिल्लातिर दौडिनुछ भने पत्रकार महासंघको भवन र कार्यालय किन चाहियो ? होइन भने पत्रकारहरुको मुद्दामा बैठक बस्नलाई केन्द्रीय कार्यालयको हल काफी छ ।

तर, पत्रकारका नेताहरुले यस्ता विषयमा ध्यान दिन सकेका छेनन् । आफ्नै भवन हुँदाहुँदै केन्द्रीय कार्यसमितिको बैठक बस्न पनि विभिन्न दूर्गम जिल्लातिर दौडिने गरेका थुप्रै उदाहरणहरु छन् । कहिले घलेगाउँ, कहिले महाकालीतिर, कहिले चितवन, कहिले धनुषाको जनकपुर धाम त कहिले मकवानपुरतिर गएर पत्रकारको मुद्दाभन्दा व्यक्तिगत विवादमा मुछिने गरेका छन् ।

उता, दलनिकट पत्रकारहरुका संघ, संगठनहरु पनि महासंघकै पथमा लागिपरेका छन् । कांग्रेस निकट नेपाल प्रेस युनियन, एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी निकट प्रेस सेन्टरका नेताहरु पनि पत्रकारका मुद्दामा बोल्न सकेका छैनन् । उल्टै पार्टी सरकारबाट बाहिरिना साथ व्यक्तिगत फाइदा लिन नपाउने भएपछि अधिकांश पदाधिकारीहरु पदबाट राजीनामा दिएर बाहिरिने गरेका छन् । संघ, संगठनका नेताहरुले आफ्नो पेशामाथि समस्या पर्दा एकजुट भएर पेशागत मुद्दामा आवाज उठाउनुपर्नेमा उल्टै आपसी विवाद सिर्जना गरेर दायित्वबाट पन्छिने गरेका छन् । प्रेस चौतारी नेपालले केन्द्रीय भेला बोलाएर पत्रकारका मुद्दामा छलफल गर्ने भनेकोमा त्यो पनि गर्न सकेन । संगठनप्रति प्रतिबद्ध र पत्रकारका मुद्दामा आवाज बुलन्द गर्दै आएको चौतारीको त यो हालत छ भने अन्य संघ, संगठनको त कुरै नरौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *