ananta gurung

परिवर्तनका बाधकहरु

राजनीति लेख

अनन्त गुरुङ

(२०८३ साल जेष्ठ२७ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित)
नेपाली जनताले नेपालमा परिवर्तन ल्याउनको लागि राष्ट्रिय स्वतंत्र पार्टीलाई चुनेकाछन । उक्त दलको नेतृत्व गरीरहेका रबि लामिछाने र बालेन शाहलाई लगभग २र३ बहुमत दिएर नेपाली जनताले नेपालमा परिवर्तन ल्याउनको लागि नेतृत्व चुनेकाछन । नेपालको सन्दर्भमा परिवर्तन भनेको नेपाल राष्ट्र र नेपाली जनताको अवस्थालाई बदल्नको लागि राजनीतिक व्यवस्था नै बदल्ने हो । प्रधानमंत्री बालेन सोही राजनीतिक परिवर्तन ल्याउनको लागि दिन रात प्रयासरत छन । सकेसम्म पुरानो राजनीतिक व्यवस्थामा टेकेर नै शान्तिपूर्ण तरिकाले नेपालमा राजनीतिक परिवर्तन ल्याउन राष्ट्रिय स्वतंत्र पार्टीका शीर्ष नेता रबि लामिछाने र प्रधानमंत्री बालेनले चाहेका हुन ।बिगतमा पुराना दलहरुले ल्याएका राजनीतिक परिवर्तनहरुमा धेरै नेपाली जनताहरु मारिएका थिए ।

कतिपय नेपाली जनताहरुलाई पुराना दलहरुले अन्यायपूर्ण तरिकाले मारेका थिए । त्यस्ता पीडितहरुले अहिले सम्म पनि न्याय निसाफ क्षतिपूर्ति केही पनि पाउन सकेका छैनन् । आज सम्म पनि माओवादीले बाल लडाकुको रुपमा प्रयोग गरेका लेलिन बिष्ट न्याय निसाफ पाउनको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा पुगेर अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टको ढोका ढकढकाई रहेकाछन । त्यस्तै गोर्खाका अधिकारी परिवारले पनि अहिले सम्म निसाफ पाउन नसक्दा श्रीमान अधिकारीको मृत शरिर महाराजगंज शिक्षण अस्पतालको मूर्दा घरमा बर्षौ देखि थन्किएर अन्तिम संस्कार कुरी बसेका छन भने श्रीमति अधिकारी एक सरकारी अस्पतालको बेडमा निरन्तर उपचार गराएर बसेकीछिन । पुरानो दलहरुले नेपालमा राजनीतिक परिवर्तन त ल्यायो तर उक्त परिवर्तन नेपाली जनताको लागि काम लागेन । नेपाली जनतालाई पुरानो दलहरुले केवल सत्तामा पुग्ने भर्याङ मात्रै बनाएर प्रयोग गरे ।

पुराना दलहरुले नेपाली जनतालाई भ्रममा पारी नेपालमा आएको परिवर्तनलाई प्रयोग गरी राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई हटाउने दुष्साहास गरेकाछन । पुरानो दलहरुले ल्याएको उक्त व्यवस्था परिवर्तनले नेपाल राष्ट्र र नेपाली जनताको अवस्थालाई बदल्न सकेन । नेपाली जनताको अवस्था झनझन खराब बनाउँदै लगेर वत् से वत्तर तुल्याई रहेको थियो । पुरानो दलहरुको नेतृत्वमा नेपालमा आएको उक्त परिवर्तन पुरानो दलहरुका शीर्ष नेताहरु र अन्य नेताहरुको लागि मात्रै काम लाग्यो । नेपाली जनताको अवस्थामा परिवार्तन ल्याउनु त कता हो कता पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले आफ्नो र आफ्ना परिवारको जीवनमा सम्पन्नता ल्याउनको लागि कुनै कसर बाँकी राखेनन् ।

गर्नु हुने वा नहुने सबै प्रकारका गैरकानुनी भ्रष्टाचार र आर्थिक अपराधमा पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुको नाम जोडिएर सर्बत्र छाएकाका छन । भ्रष्टाचार र आर्थिक अपराधजन्य कांडै काण्डहरुको भारीले पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरु नराम्रो सित दबिएकाछन । पुराना दलहरुले नेपालमा लोकतंत्रको नाममा दलतंत्र र नेतातंत्र चलाउने गरेका थिए । नेपालको अड्डा अदालत र प्रहरी प्रशासनको दलीयकरण गर्न गराउनको लगि न्वारान देखि कै बल प्रयोग गरी जोड लगाएका थिए । पुरानो दलहरुको मनोमानी, अन्याय, अत्याचार र भ्रष्टाचारलेसीमा नाघेपछिनेपाली जनताका एक तप्काले पुराना दलहरुको बिरोध गर्ने हिम्मत देखाएकाछन ।

उक्त तप्का अरु कोही नभएर उर्जाले भरीभराउ भएको जेन जी युवापिढी नै हुन । जेन जी बालकहरुको अपूर्व वीरता र वलीदानीले गर्दा नै अत्याचारी र भ्रष्टाचारी पुराना दलका शीर्ष नेतहरु र अन्य नेताहरुले उल्टो आङ चित् खाएकाछन । नेपालको राजकीय सत्तामा जुका झै टाँसिएर बसेका पुराना दलका शीर्ष नेताहरुले त्यसै सत्ता छाडेका होईनन् । उहाँहरुले अत्याधिक प्रहरीबल प्रयोग गरी सेनाको सहायता लिएर लुक्नु भाग्नु भन्दा पहिले ७७ जेन जी बालकहरुको निर्मम तरिकाले हत्या गर्न लगाएका थिए । त्यसको लागि जिम्मेवार तत्कालिन ओली(देउवा सरकारको नेतृत्व गरी बसेका एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओलीले अहिले सम्म दुस्ख मनाउ सम्म पनि गरेका छैनन् ।

झापाका जमिन्दारहरुको टाउको काटेर नेपालमा राजनीति सुरु गरेका ओलीवादीहरु यतिबेला ठुला ठुला राजनीतिक गफ गर्दै फूर्ति हाँकेर पुनस् सत्तामा फर्किने सपना देखीरहेकाछन जुन कुरा नेपालको अहिलेको राजनीतिक सन्दर्भमा सजिलो छैन । राजनीतिक सत्ता र शक्ति दुबै गुमाईसकेका पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुको लागि अप्रत्यासित रुपमा नेपालमा आएको राजनीतिक परिवर्तन सपना जस्तो लागीरहेको हुनुपर्छ । त्यसकारण उहाँहरुको लागि नेपालमा भएको परिवर्तनले दिनमा नै तारा देखाएको हुँदा बहुलाउने र धत्ताउने रोगले ग्रस्त भएकाछन ।जेन जीले ठुलो वलीदान गरी नेपालमा राजनीतिक परिवर्तन ल्यएर त्यसको रक्षा, सम्हार र सञ्चालनको जिम्मेवारी राष्ट्रिय स्वतंत्र पार्टीको शीर्ष नेता द्वय रबि र बालेनलाई दिएकाछन । शीर्ष नेता द्वय रबि र बालेनले पनि आफ्नो जिम्मेवारीलाई अहिले सम्म प्रभावकारी ढंगले नै निर्बाह गरीरहेका छन ।

अब उहाँहरुले राष्ट्रिय स्वतंत्र पार्टीलाई थप बलियो बनाउँदै लगेर त्यसलाई जेन जीका बालकहरुले नेपाल राष्ट्र र नेपाली जनताको सुनौलोभविष्य निर्माण गर्नको लागि देखेका सपनाहरुलाई मूर्त बनाउन सक्ने तुल्यानु पर्छ । अहिले नै पुराना दलहरु कमजोर भयो र सकियो भन्न मिल्दैन । निस्सन्देह तिनीहरु कमजोर भएकाछन तर उठ्नै नसक्ने गरी खरानी बनी सकेका छैनन् । त्यसैपनि विपक्षीलाई कहिले पनि कमजोर मानेर वेवास्ता गर्नु हुँदैन । उनीहरुलाई जहिले पनि निगरानीको रडार क्षेत्र भित्रबाट ओझेल पर्न दिनु हुँदैन । बिगत देखि पुरानो दलहरुले गर्दै आएको गल्तीहरुलाई उदाहरण बनाउँदै सोही अनुसार चल्ने छुट राष्ट्रिय स्वतंत्र पार्टीलाई छैन । पुराना दलहरु जस्तै राष्ट्रिय स्वतंत्र पार्टी पनि अर्को राजनीतिक दलहो भन्ने सोचलाई त्यागेर राष्ट्रिय स्वतंत्र पार्टी फरक दल भएको प्रमाण फरक काम गरी नेपाली जनतालाई दिन सक्नुपर्छ । पुरानो दलका अवशेषहरुको रुपमा अहिले पनि संसदमा केही साँसदहरु छन ।

तिनीहरुको काम भनेको बालेन सरकारको राम्रो नराम्रो जुनसुकै कामहरुको पनि बिरोध मात्रै गर्नु हो । प्रतिपक्षका साँसदहरुको संख्या संसदमा कमै भएपनि त्यो संख्या सरकारको कामलाई बाँधा हाल्न वा बाँधा पुर्याउनको लागि काफी छन । त्यसैले संबिधान संसोधन गर्ने कार्यलाई बालेन सरकारले महत्व दिएर अगाडि बढाउनु पर्छ । संवैधानिक राजतंत्रको वापसी, धर्मनिरपेक्षताको खारेजी, प्रधानमंत्री पदको प्रत्येक्ष चुनाव जस्ता महत्वपूर्ण एजेण्डाहरुलाई यथासक्य चाँडो टुंगो लगाउनु पर्छ । राष्ट्रिय आम्दानी बढाउन र खर्च घटाउनको लागि प्रदेश खारेज गर्ने देखि लिएर साँसदको संख्या घटाउने सम्मका विकल्पहरु छन । सोविकल्पहरुको राम्रो सित अध्ययन अनुसन्धान गरी उपयुक्त विकल्प रोज्नु पर्नेछ ।

ऋण गरी गरी घीउ खाने काम रोक्नु पर्छ किनकि त्यसरी गरिएको बिकासहरुले नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन सक्दैन ।यसो त पुरानो दलहरुको फेरि सजिलै पुनरजागरण हुन सक्ने संभावना न्यून नै छ तैपनि बालेन सरकारले यस्तो संभावनालाई नकार्नु हुँदैन । भ्रष्टाचार र अपराधलाई बढवा दिएर सुशासनलाई कमजोर पार्नेहरु पुराना दलका शीर्ष नेताहरु र उहाँका सहयोगीहरु नै हुन । पुराना दलहरुको पुनरजागरण हुनु भनेको फेरि नेपालमा कुशासन आउनु नै हो । साथै भ्रष्टाचार र अपराधले बढवा पाउनु नै हो । त्यसकारण नेपालमा सुशासनका पक्षधरहरुले कहिले पनि पुराना दलहरु सित लगनगाँठो बाँध्नु हुँदैन । नेपाली काँग्रेस, एमाले र माओवादी दलहरुले एक आपसमा पालैपालो लगनगाँठो गरेकाले कालन्तरमा तिनीहरुको भिन्नाभिन्नै दलहरु भएको अस्तित्व मटिएर एउटै दल जस्तो भएका थिए ।

जसरी धेरै नदीहरु मिलेर सगार बन्छ त्यसरी नै नेका, एमाले र माओवादी मिलेर कुशासनको सागर नै नेपालमा तयार भएको थियो । बालेन सरकारले अब त्यसरी नेपालमा बनेको भ्रष्टाचार र अपराधको सागरलाई सुकाउने प्रयास थाल्नु पर्छ । पुराना दलहरुले ३६ बर्ष सत्ता र शक्तिमा बसेर गरेको भ्रष्टाचार र अपराधहरुलाई निमिट्यान्न पार्न समय लाग्छ । सुरुमा नै खुट्टा कमाएर पुराना दलका शीर्ष नेताहरुले दिएका चुनौती डटेर सामना गर्न सकिएन भने राष्ट्रिय स्वतंत्र पार्टीलाई पनि नेपाली जनताले रद्दीको टोकरीमा फालीदिनेछन । तसर्थ जेन जी बालकहरुको मुख्य एजेण्डा सुशासनलाई नेपालमा फर्काउन सकिएमा मात्रै जेन जीका सहिदहरुले बालेन सरकारको उपलव्धि प्रति गर्व गर्नेछन । जेन जी सहिदहरुको लागि यो भन्दा राम्रो श्रद्धान्जली बालेन सरकारबाट अरु हुनेछैन । नेपाल राष्ट्रमा अहिले भ्रष्टाचारीहरु र अपराधी कता छन भनी खोजी राख्न जरुरी छैन ।

भ्रष्टाचारीहरु र अपराधीहरु पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरु नै हुन । उहाँहरुले नै नेपालमा भ्रष्टाचार र अपराध गरी सुशासनको हत्या गरेकाहुन । यस्ता कुशासनका नाईकेहरुलाई उहाँहरुले गरेका भ्रष्टाचारहरु र अपराधहरुको लागि जबाफदेही तुल्यान सकिएमा नेपाली जनताले बालेन सरकारको साथै राष्ट्रिय स्वतंत्र पार्टीको जयजयकार गर्नेछन । कुशासनको प्रतिक बनीसकेको पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुको घाँटीमा घण्टी बाँध्ने काम बालेन सरकारले ढिलो नगरी पुरा गर्नुपर्छ ताकि नेपाली जनताले हमेसाको लागि सुरक्षित महसुस गर्न सक्ने अवस्था नेपालमा निर्माण होस । यस्तो अवस्था ल्याउनको लागि राजनीतिक व्यवस्था नै बदल्नु पर्ने अवस्था आएपनि बालेन सरकारले कुनै पनि हालतमा खुट्टा कमाउनु हुँदैन । नेपालमा परिवर्तनको बाधक भनेको पुरानो दलहरु नै भएकाले त्यसको प्रतिकार गर्नको लागि राजतंत्र सितै हातेमालो गरी राष्ट्रवादी शक्तिहरु एकढिक्का भएर अगाडि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *