काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सुरु भएपछि नेता÷कार्यकर्ताबीच विभिन्न जिल्लामा विवाद सुरु भएको छ । जिल्ला, क्षेत्र र नगरको अधिवेशनमा चरम गुटबन्दी र विवाद भएका कारण कतिपय जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने कतिपय जिल्लाहरुमा स्थगित भएको छ । त्यसपछि प्रदेश अधिवेशन सुरु भएको छ । प्रदेश अधिवेशनमा पनि विवाद चर्किन थालेको छ । महाधिवशेनलाई लिएर रास्वपाभित्र अधिवेशनबाट गुटबन्दी सुरु भएपछि सभापति रवि लामिछाने कमजोर बन्दै गएका छन् भने वरिष्ठ नेता बालेन्द्र साह सरकारको आडले बलियो बन्दै गएका छन् । बालेन्द्रको समूहबाट भुपदेव शाहलाई सभापतिमा प्रतिस्पर्धा गराउने चर्चा छ ।
उता, प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा नेपालले भारतीय भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरुले सदन अबरुद्ध गरेका थिए । अबरुद्ध सदन खुलाउनको लागि सभापति रवि लामिछानेले सर्वदलीय मिटिङ बोलाएका थिए । तर, सर्वदलीय बैठकमा ठूला पार्टीका शीर्ष नेताहरु उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशीर खनालले प्रतिपक्षको प्रश्नमा जवाफ दिएपछि संसद सुचारु भएको थियो । संसद सुचारु भए तापनि प्रतिपक्षी दलहरुले नेपालले भारतीय भूमि मिचेको विषयमा दिएको अभिव्यक्ति प्रधानमन्त्रीले साहले फिर्ता लिनुपर्ने माग उठिरहेको थियो । अझ नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले सभामुख र रास्वपाका सांसदहरुको ओठतालु सुक्ने गरी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गरेका थिए ।
त्योसँगै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, सांसद खुश्बु वली, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, सांसद सुहाङ नेम्वाङ, नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनलगायतका सांसदहरुले सीमा विवादप्रति प्रधानमन्त्रीको अभिव्यक्तिको कडा रुपमा प्रतिवाद गरेका थिए । त्यसैगरी भन्सार छली गरेर चीनबाट ईभी गाडी भित्र्याएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम लाग्लेको विरोध गरेका थिए । त्योसँगै बजेटमा धनाढ्य र मध्यम गर्नलाई प्राथमिकता दिएको र भूईमान्छेहरुलाई सम्वोधन नगरेको आरोप पनि प्रतिपक्षी दलहरु ले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई लगाइरहेका छन् । उता, शिक्षा, स्वास्थ्य र विद्युतजस्तो सबै वर्गको दैनिकीसँग जोडिएको विषयमा कर लगाएको भन्दै सबैतिर रास्वपा र सरकारको आलोचना भइरहेको छ ।
एकातिर महाधिवेशनको विषयलाई लिएर रास्वपाभित्र पक्ष–विपक्षबीच गुटबन्दी भएर विवाद भइरहेको छ भने अर्कोतिर सरकारको गतिविधिले संसदमा प्रतिपक्षीहरुको घेराबन्दीमा रास्वपा परिरहेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति र पार्टीभित्रको विवादले नेता, कार्यकर्ता र अन्य दलको विकल्पमा भोट हाल्नेहरुले रास्वपाको आलोचना गर्न थालेका छन् । सर्वसाधारणमा पनि हिजो जसरी रास्वपा हाइहाइ भएको थियो, आज त्यसैगरी विरोध सुरु भएको छ ।
सरकार र पार्टी दुवैतिर आलोचना हुन थालेपछि प्रतिपक्षी दल र सर्वसाधारणको विरोधलाई अन्यत्र मोड्न गृहमन्त्री सुदन गुरुङले २५ वर्ष पहिलाको दरबार हत्याकाण्डको छानविन गर्ने हल्ला चलाएका छन् । दरबार हत्याकाण्डको विषय अगाडि ल्याएपछि तत्कालीन गृहमन्त्री हालका राष्पट्रपति रामचन्द्र पौडेललाई पनि तर्साउन सकिने आँकन रास्वपा र गृहमन्त्री गुरुङको छ । त्यसैगर ठूला दलका शीर्ष नेताहरुलाई साइजमा ल्याउन र संसदमा विरोधका स्वर दबाउनको लागि गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डको छानविन गर्ने कार्ड फालेका हुन् ।

