काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सञ्चारकर्मीहरुलाई विश्वासनीय र भरपर्दो सूचना सम्प्रेषण गर्नुपर्ने, पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने, लोकतन्त्रको महत्वपूर्ण अंग प्रेस जगत भएको भनेर पत्रकारहरुलाई फुक्र्याउने काम गर्दै आएका छन् । तर, पत्रकारहरु भने सरकारले निजी मिडियामाथि गरेको विभेदकारी निर्णयविरुद्ध सडक आन्दोलनमा उत्रिइरहेका छन् । सरकारले समानुपातिक विज्ञापन नीतिमाथि हस्तक्षेप गरी सरकारी विज्ञापन निजी मिडियालाई नदिने भन्ने निर्णय गरेर विश्वलाई हराउँने काम गरेको छ । विश्वको मान्यता अनुसार मिडिया भनेको सरकारी र निजी भन्ने हुँदैन ।
त्यसको लगानी मात्रै सरकारी र निजी भन्ने हुन्छ । समाचार सरकारी र निजी मिडियाहरुले लेख्ने एउटै हो । निजी मिडियाहरु पनि सरकारको सम्बन्धित निकायमा दर्ता गरेर सञ्चालन गरिएका छन् । सरकारको नीति, नियमको पालना गरेर चलिरहेका छन् । तर, सरकारले भने निजी मिडियाहरुलाई सूचनाबाट बञ्चित गराउने काम गरिरहेको छ । लोकतान्त्रिक शासनव्यवस्थामा पत्रकारलाई बञ्चित गराउनु भनेको संविधानको धज्जी उडाउनु हो । अन्य मुलुकमा प्रेस स्वतन्त्रता मात्रै भनिएको हुन्छ, तर नेपालको संविधानमा प्रेसलाई पूर्णस्वतन्त्रता भनिएको छ । संविधानमा उल्लेख पूर्णप्रेस स्वतन्त्रता सरकारी मिडियालाई मात्रै होइन निजी मिडियाको लागि पनि हो ।
नेपालको संविधानले प्रेसलाई पूर्णस्वतन्त्रता दिए तापनि पत्रकारहरुको हकहितलाई कुण्ठित गरेर सरकारी सञ्चार माध्यमलाई मात्र सरकारी सूचना दिनु कति उचित हुन्छ ? सरकारी सूचना नपाएपछि सञ्चारकर्मीको रोजीरोटी खोसिएसँगै सञ्चार गृहमन्त्रीहरु बन्द हुने अवस्थामा पुगेका छन् । उल्टै सरकारले निजी मिडियाको कार्यालयहरुमा संकास्पद गतिविधि प्रदर्शन गरेर त्रसित बनाउने काम गरिरहेको छ । कहिले आचारसंहिता, कहिले झुठा समाचार सम्पे्रषण गरोको त कहिले साइबर क्राइमको आरोप लगाएर समाचार लेखेकै भरमा पत्रकारहरुलाई आतंकित बनाउने काम सरकारले गर्दै आएको छ । कहिले पत्रकार र मिडिया सञ्चालकहरुको घर र कार्यालयअगाडि विभिन्न संकास्पद गतिविधि गरेर सरकार अधिनायकवादी बन्न खोज्दै छ ।
पछिल्लो समय सरकारले मिडिया र पत्रकारलाई तर्साउनको लागि नयाँ–नयाँ गतिविधिहरु अपनाउन थालेको छ । अस्ति सोमवार कान्तिपुर पब्लिकेश, हिमालयन टेलिभिजन र अनलाइन खबर डट कम को कार्यालय अगाडि आवतजावत गर्न नमिल्ने गरी गाडी राखेर अवरोध सिर्जना गरिएको थियो । त्यसैगरी नेताहरुको घर अगाडि पनि शंकास्पद गाडी राखेर अवरोध सिर्जना गरिएको थियो । पत्रपत्रिकाको कार्यालय र नेताको घरमा संकास्पपद ढंगले गाडी राखेर अवरोध गरेको समाचार आएपछि रास्वपाले त्रसित बनाउने उद्देश्यबाट प्रेरित घटना भएको भन्दै विरोध गरेको थियो । तर, त्यसरी राखिएका गाडीहरु रास्वपाका नेता र कार्यकर्ताको भएको समाचार बाहिरएका छन् । त्यसले गर्दा सरकारको पछिल्लो गतिविधि हेर्दा दिउसो कार्यालयमा बसेर मदन गर्ने र राति घरघरमा गएर तर्साउने काम गरेको देखिन्छ ।

