रामचन्द्र बस्नेत
पछिल्लो समय नेपालका विभिन्न राजनीतिक घटनाक्रमले गर्दा सुरक्षा निकाय कमजोर बन्दै गएको पाइन्छ । सरक्षा निकायले आफ्नो दायित्व बहन गर्न नसकेकै कारण देशको राष्ट्रिय धरोहर र संरचनाहरु ध्वस्त हुने क्रम बढ्दै गएको छ । देशको आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्नुपर्ने हुन्छ भने राष्ट्रिय सुृरक्षाको जिम्मा नेपाली सेनाको हो । तर, पछिल्लो समय नेपालका राजनीतिक घटनाक्रमले गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सरकारले कमजोर बनाउँदै सर्वसाधारण महसुस गर्न थालेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कमजोर बनाउने काम राजनीतिक दलहरुले नै गर्दै आएका छन् । किन कि सरकारविरुद्ध हुने राजनीतिक दलको विरोध प्रर्दशनमा पनि नेपाली सेना प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । नेपाली सेनाले पनि राष्ट्र, राष्ट्रियता र जनताप्रति आफ्नो भूमिका निर्वाह गर्न नसकेको भान सर्वसाधारणले गर्न थालेका छन् । राष्ट्रिय सुरक्षाको जिम्मा नेपाली सेनालाई भए तापनि पछिल्लो समय घटेका विभिन्न घटनाक्रमले सेनाप्रतिको त्यो विश्वास र भरोसा खस्किँदै गएको छ ।\
त्यसको उदाहरण लिन सकिन्छ २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डलाई लिन सकिन्छ । नेपाली सेनाको भैरवनाथ गणको घेराभित्र रहेको नाराहिटी दरबार हत्याकाण्डपछि नेपाली सेनाप्रति सर्वसाधारणमा विश्वास गुम्दै गएको थियो । त्यसपछि २०८२ साल भदौ २४ गतेको जेनजी प्रर्दशनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र प्रधानमन्त्री निवासमाथि आक्रमण हुँदा नेपाली सेनाको भूमिका न्यूनि देखियो । किन राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास र सिंहदरबार जलिरहँदा नेपाली सेनाले सुरक्षा दिन नसकेको सर्वसाधारणको गुनासो छ । त्यो घटनाबाट पनि नेपाली सेना आफ्नो दायित्वमा चुकेको पाइन्छ ।
अझ पछिल्लो समय बालेन नेतृत्वको रास्वपा सरकारले देशभित्रको आन्तरिक शान्ति सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउनुपर्नेमा सेनाको प्रयोग गरिएको थियो । बालेन सरकार बनेको केही हप्ता नबित्दै सुकुम्वासीको घर–टहरा हटाउनको लागि नेपाली सेना प्रयोग गरेको थियो । त्यसैगरी हालसालै सुनसरीको कप्तानजञ्जलगायत तराइका जिल्लाहरुमा मुस्लिम र हिन्दूहरुबीच भएको द्वन्द्व नियन्त्रण गर्न पनि बालेन सरकारले नेपाली सेनालाई प्रयोग गरेको थियो । यदि त्यो घटना अझ हिंसात्मक भएर प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आएको थियो भने नेपाली सेना झन् कमजोर भएको सावित हुने थियो । यी घटनालाई हेर्दा कुन घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रयोग गर्ने र कस्तो अवस्थामा सेना परिचालन गर्ने भन्ने हेक्का सरकारले राख्न सकेको छैन । असन्तुष्ट पक्षले सरकारविरुद्ध प्रदर्शन गर्नेबित्तिकै त्यसको सुरक्षाको लागि नेपाली सेना प्रयोग गर्दा भोलिका दिनमा नेपाली सेना विफल भएर देशमाथि वैदेशिक हप्त नहोला भन्न सकिन्न ।
त्यसले देशको शान्ति सुरक्षाको लागि रक्षामन्त्री र गृहमन्त्रीले कस्तो आन्दोलनमा कुन सुरक्षा संयन्त्रलाईं प्रयोग गर्ने भन्ने ख्याल गर्नुपर्ने हुन्छ । यतिबेला रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालेनका छन् । प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय सम्हालेकै बेला तराइमा भएको हिन्दु र मुस्लिमको धार्मिक आन्दोलन साम्य पार्न नेपाली सेना प्रयोग गरिएको थियो । यदि त्यो आन्दोलनले उग्र रुप लिएर हिंसा भड्किएको भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो । प्रधानमन्त्रीले राजीनामा दिएसँगै रक्षा मन्त्रालयको जिम्मेवारी लिएकाले नेपाली सेना पनि विफल भएको सावित हुने थियो । त्यसले गर्दा सरकारले कस्तो अवस्थामा मात्रै सेना परिचालन गर्ने भन्ने ख्याल गर्न जरुरी छ । त्यसैगरी राष्ट्रिय सुरक्षाको जिम्मा लिनुपर्ने नेपाली सेना पछिल्लो समय व्यापार, व्यवसाय र ठेक्कापट्टाको काम गर्न थालेपछि विवादमा तानिएको छ । अझ, पछिल्लो समय विभिन्न ठाउँमा गुम्बा, मठमन्दिर बनाउने र संस्थाको नाममा सिलालेख र ताम्रपत्र टाँसेर गुल्म र ब्यारेकको प्रचारवाजी गर्न थालेको छ ।

