नेपालको राजनीति पुरानै पुस्तातिर फर्कने संकेत

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीति पुरानै पुस्तातिर फर्कने संकेत पछिल्लो घटनाक्रमले देखिएको छ । खाशगरी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर र हङकङमा उपचार गराएर पाँच महिनापछि गत साउन २८ गते स्वदेश फर्किएपछि नेपालको राजनीतिले नयाँ मोड लिने संकेत गरेको हो । पाँच महिनापछि स्वदेश फर्किँदा देउवाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कांग्रेस इतरपक्षले खोलेको चुनदेवीस्थित सम्पर्क कार्यालयसम्म हजारौं कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थितिले राजनीतिमा फेरि पुरानै पुस्ताका नेताहरु हावी हुने देखिएको छ । विमानस्थलमा देउवाको स्वागतका लागि कांग्रेस इतरपक्षका नेता÷कार्यकर्ताको मात्रै उपस्थिति नभएर विभिन्न राजनीतिक दल, शुभचिन्त र विशेषगरी युवाहरुको उल्लेख्य उपस्थिति रहेको देखिन्थ्यो । विमानस्थलदेखि चुनदेवीसम्म पार्टी कार्यकर्ता र शुभचिन्तकहरुले देउवा र नेपाली कांग्रेसको पक्षमा बाजागाजासहित जुलुस र झाँकी प्रदर्शन गरेका थिए । शेरबहादुर देउवा नेपाली कांग्रेसको नेता मात्रै नभएर नेपाली राजनीतिको अनुभवी अभिभावक भएको भन्दै उनको पक्षमा युवा पुस्ताले नारावाजी गर्दै खुशीयाली मनाएका थिए ।

पुराना पुस्ताले केही गरेन भनेर नयाँ पुस्ता खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदान गरेका हज्जारौं युवाहरु चार महिनामै रास्वपा सरकारको क्रियाकलापबाट वाक्क, दिक्क भएर यिनीहरुबाट देशको विकास र समृद्धि नहुने देखेपछि ती युवाहरु पुरानै पार्टी र नेताहरुप्रति आकर्षित हुन थालेका छन् ।

अर्कोतिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक गृहजिल्ला झापाहुँदै इमालम पुग्दा पहिलाको तुलनामा व्यापक जनसहभागिता र स्वगात सत्कार गरिएको थियो । ओलीको स्वागतमा पनि युवाहरुको व्यापक सहभागिता रहेको थियो । त्योसँगै नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालनमा सहकार्य भएपछि प्रदेशहरुमा यी पार्टीप्रति पनि जनआकर्षण बढेको देखिन्छ ।
दुई तिहाई नजिक बहुमत प्राप्त रास्वपा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपछि रास्वपा समर्थक युवा पुस्ताहरु एकाएक निराश हुनथालेका छन् । आफ्नो सरकार बनेपछि विदेशमा रहेका नेपाली युवाहरुलाई समते नेपाल फर्काएर रोजगारी दिने आश्वासन दिएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी सत्तामा पुगेपछि भएका रोजगारीसमेत कटौती गरेर बेरोजगार बनाउन थालेपछि रास्वपाप्रति युवाहरुमा चरम निराशा छाउँदै गएको छ ।

निजामती सेवा ऐन अनुसार ५८ वर्ष उमेर पुगेपछि सेवाबाट अवकास हुनुपर्ने कर्मचारीहरुलाई नयाँ कानुन बनाएर ३० वर्ष सेवा गरेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकास दिने तयारी गरेपछि हजारौं कर्मचारीहरु पनि रास्वपा सरकारप्रति रुष्ट बन्दै गएका छन् । सामान्य प्रशासन मन्त्रालयका उपसचिवले भने, ‘नेपालीहरुको सरदर आयु बढिरहेको बेलामा निजामती कर्मचारीको उमेर हद ६० वर्ष बनाउनुपर्नेमा उल्टै ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लगाएर अनुभवी र योग्य कर्मचारीलाई सेवाबाट बिमुख बनाउनु सरकारको गलत नियत हो ।’ रोजगारी मात्र होइन, मानिसको दैनिकीसँग जोडिएको खाना पकाउने एलपी ग्याँसको बजारमा अभाव चर्किएपछि रास्वपा सरकारप्रति आम उपभोक्ता आक्रोशित बनेका छन् ।

उता, रास्वपाका सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखासमितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई अगाडि राखेर भ्रष्टाचारलगायत विभिन्न आरोप लगाउँदै सुरक्षा निकायको बनोबल गिराउने अभिव्यक्ति दिएपछि सुरक्षा निकाय पनि यो सरकारप्रति रुष्ट बनेको छ । प्रहरी महानिरीक्षक कार्कीले त यस्ता शासकहरुबाट आफूहरु सासित हुनुपर्दा आत्मग्लानी भएको तर, बर्दी र संसदीय समितिको सम्मानको लागि आफू सम्हालिन वाध्य भएको बताएका थिए । त्यसैगरी नेपाली सेना प्रयोग गरेर थातथलोबाट रातारात लखेटेपछि काठमाडौंलगायत देशैभरका भूमिहिन सुुकुम्वासी र अव्यवस्थित बसोवासीहरु रास्वपा सरकारप्रति खनिएका छन् । त्यसैगरी विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने, कर्मचारी ट्रेड युनियन खारेज गर्नेजस्ता संविधान विरोधी काम गरेपछि सरकारविरुद्ध विद्यार्थी र कर्मचारी पनि आक्रोशित बनेका छन् ।

त्यस्तै सञ्चार माध्यमलाई सरकारी र निजी भनेर सरकारी सूचनामा विभेदकारी नीति ल्याएपछि सञ्चारकर्मीहरु रास्वपा सरकारप्रति आक्रोशित बनेका छन् । अझ पछिल्लो समयमा त समाचार लेखेकै आधारमा सम्पादकलाई रातको समयमा निवासबाट पक्राउ गरेर थुनामा राख्ने, सरकारी सूचनामा सार्वजनिक खरिद ऐन २०८३ जारी गरेर निजी मिडियालाई प्रतिबन्ध लगाउने, अनलाइन पोर्टलहरु नविकरण र नयाँ दर्ता गर्दा शुल्क लिने, प्रधानमन्त्री कार्यालयमा पत्रकारहरुलाई प्रतिवन्ध लगाउने, सञ्चारकर्मीहरुको घर तथा कार्यालय छापामारेर सञ्चार उपकरणहरु जफत गर्नेजस्ता असंवैधानिक हर्कत गरेपछि सञ्चार जगत पनि सरकारप्रति रुष्ट बन्दै गएको छ ।

त्यसैगरी उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका सञ्चालकमाथि बिना कसुरु जथाभावी धरपकड गर्न थालेपछि उद्योगी र बैंकरहरु पनि रास्वपा सरकारप्रतिशत निराश बन्न थालेका छन् । त्यस्तै विभिन्न कन्सलटेन्सी र म्यानपावर व्यवसायीहरुका कार्यालयमा खानतलासी गर्ने र अनावश्यक दुःख दिने कारणले उनीहरु पनि सरकारप्रति रुष्ट बनेका छन् । पेट्रोलियम पद्धार्थको मूल्य घट्दासमेत बढेको भाडा यथावत रहेको भन्दै यात्रुहरु सरकारप्रति रुष्ट बनिरहेका छन् । उता, निर्माण व्यवसायीहरुलाई निर्माण सम्पन्न भएको भुक्तानी नदिने र पुरानो ठेक्का तोडेर नयाँ लगाउने, समयमा काम नगरे कारबाही गर्ने भनेर धम्की दिएको कारण निर्माण व्यवसायीहरु पनि रास्वपा सरकारको क्रियाकलापप्रति आक्रोशित बनेका छन् । रास्वपा सरकारको यस्तै गतिविधिका कारण हिजो रास्वपालाई भोट दिनेहरु चार महिनामै वाक्क दिक्क भएर पुराना दलहरुतिर आकर्शित हुन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *