आधिकारिकता इतरपक्ष कि संस्थापन पक्ष ?
काठमाडौं । यतिबेला नेपाली कांग्रेसमा संस्थापनपक्ष र इतरपक्षको लडाईँले सिमा नाघेको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापाले गत प्रतिनिधि सभा निर्वाचनमा पार्टी र आफू नराम्रोसँग पराजित भएपछि त्यसको दोष इतरपक्षलाई लगाउँदै आफू चोखिन न्वारनदेखिको बल निकालेर लागिपर्दै आएका थिए । पूर्वसभापति शेरबहादुर देउवा उपचारको क्रममा सिंगापुर लामो समय बसेर नेपाल फर्किएपछि उनीटिकट इतरपक्ष नेताहरुले राष्ट्रिय भेलाको आयोजना गरेका थिए । इतरपक्षले आयोजन गरेको सो राष्ट्रिय भेलामा आफूनिकटका मान्छेसमेत उपस्थित भएपछि सभापति थापा अत्तालिएर १५औं महाधिवेशन गर्ने तयारी गरिरहेका छन् । उता, इतरपक्ष देउवा समूहका नेताहरु भने विशेष महाधिवेशनलाई अवैध भन्दै सर्वोच्चको ढोका ढकढक्याउन पु्गेका छन् ।
इतरपक्षको भेलामा केही नेताहरुबीच मतभिन्नता भएपछि सर्वोच्च जाने काममा ढिलासुस्ती भएको थियो । मतभिन्नता भएपछि पूर्णबहादुर खड्का र शेरबहादुर देउवाले १५औं महाधिवेशन रोक्नको लागि छुट्टाछुट्टै निवेदन लिएर अस्ति सोमवार सर्वोच्च पुगेका थिए ।तर सर्वोच्चले प्राविधिक कारण देखाएर सो निवेदन दर्ता हुन सकेको थिएन ।
तर, हिजो मंगलवार इतरपक्षको उक्त निवेदन दर्ता भएको छ । अब सर्वोच्च अदालतले संस्थापन पक्षले गर्न खोजेको १५औं महाधिवेशन रोक्छ कि मुद्दालाई थाती राखेर १५आंै महाधिवेशन गर्न गगन थापालाई दिन्छ त्यो हेर्न बाँकी छ । उता, विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि निर्वाचन आयोगले पार्टीको चारतारे झन्डा र रुख चिन्ह गगनपक्षलाई दिएर निर्वाचनमा पठाएको थियो । तर, इतरपक्षले निर्वाचन आयोगको उक्त निर्णय गलत भएको दावी गर्दै पार्टीको चारतारे झण्डा र रुख चिन्ह आफ्नोपक्षमा हुनुपर्ने दावी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । त्यही मुद्दाको आधारमा सर्वोच्चले कांग्रेसको विशेष महाधिवशेनको विषय सुरुबाटै हेर्नुपर्ने भनेर तत्कालीन सभापति शेरबहादुर देउवालाई निशा दिएको छ । तत्कालीन अवस्थामा निर्वाचन आयोगलाई कुनै पार्टीको विवाद हेर्नुभन्दा पनि चुनाव सम्पन्न गर्नुपर्ने वाध्यता थियो । त्यसकै आधारमा गगन थापालाई पार्टीको चारतारे झन्डा र रुख चिन्ह दिएको थियो । तर, निर्वाचन आयोगका तीनजना आयुक्तमध्ये एकजना आयुक्तले असहमति जनाएका थिए । अहिले त्यो विवादलाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षबीच घमासान युद्ध सुरु भएको छ । तर, कांग्रेसको आधिकारिकता इतरपक्षले पाउने सम्भावना बढेर गएको छ ।
आधिकारिकताकै विषयलाई लिएर संस्थापन र इतरपक्षबीचको युद्धले कांग्रेस दुई धारमा विभाजित भएको छ । अब कांग्रेसको आधिकारिता कसको पक्षमा जान्छ भन्ने जिम्मा सर्वोच्च अदालतको हातमा पुगेको छ । सर्वोच्चले जसको पक्षमा फैसला गर्छ, त्यही आधिकारिक हुने विश्लेषकहरुको आँकलन छ । तर, सर्वोच्च अदालतले थापा अथवा देउवा जसको पक्षमा फैसला गरे तापनि कांग्रेसभित्र दुई ध्रुव भने कायम हुने देखिन्छ । त्यसले गर्दा नेपालकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस दुई ध्रुवमा विभाजित हुनुभनेको नेपालमा लोकतन्त्र नै खतरामा पर्नु हो । कांग्रेस संस्थापन र इतरपक्षको विवादको सुनुवाई भोलि ११ गते बिहीवार हुँदैछ । तर, कांग्रेसको आधिकारिकता तत्कालीन सभापति शेरबहादुर देउवाको पोल्टामा जाने संकेत देखिएको छ ।

